विराटनगर । विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । शहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउने छ ।
सडकको चोक तथा मिलन बिन्दु (दोबाटो÷चौबाटो) देखि कुनै निश्चित घरको दुरीका आधारमा ठेगाना पत्ता लगाउन सकिने प्रणालीलाई मेट्रिक प्रणाली भनिन्छ । विराटनगर महानगरपालिका कार्यवहाक मेयर शिल्पा निराला कार्कीले आइतबार महानगरसँगै सटेको विराटनगर–७ का देवकीनन्दन अग्रवालको घरमा पहिलो नम्बर टाँस गरेर यसको शुभारम्भ गरेकी हुन् । योसँगै रोडशेषलाई मिनल बिन्दु मानेर मेन रोडका घरहरुमा दुरीका आधारमा घर नम्बर टाँस गरिनेछ । यसमा बाटो÷ गल्ली÷ टोल नाम उल्लेख हुनेछ ।
यसले भविष्यमा स्मार्ट सिटीका रुपमा विकास गर्न समेत सहयोग पुग्ने कार्यवहाक मेयर कार्कीले जानकारी दिइन् । त्यस बाहेक कर तथा राजस्व, नागरिकको स्तर बर्गिकरण, विपद् आईपर्दा द्रुत सेवा सञ्चालन, गरिबी पहिचान, पूर्वाधार पहुँच लगायतको विषय जानकारी हुन सजिलो हुनेछ ।
महानगरपालिका इन्जिनियर अर्जुन थापाका अनुसार एडीबीको सहयोगमा सञ्चालन भएको आरयूडिपी परियोजना अन्तर्गत छुटेको काम अहिले कार्यन्वयनमा आएको हो । यसलाई क्रमशः सबै वडामा विस्तार गर्ने लक्ष्य राखिएको छ । यो प्रणालीमा मुख्य त सडकको दुरीलाई आधार बनाउने गरिन्छ । सडक÷गल्लीको नाम र दुरीको आधारमा घर नम्बर प्रदान गरिने भएकोले पहिचानमा सहज हुने भएको हो । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मूल ढोकासम्मको दुरी घरको नम्बर प्लेटमा राखिनेछ ।