विराटनगरको मानवसेवा आश्रम : बेसहारालाई सहयोगी हात

विराटनगरको मानवसेवा आश्रम : बेसहारालाई सहयोगी हात

विराटनगर । विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् ।
विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो ।

यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई भोजन गराएका छन् । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहरुको स्मृतिमा आश्रित मानवहरुलाई भोजन गराएका हुन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले समयसँगै संस्कार र संस्कृतिमा पनि परिवर्तन हुनुपर्ने बताए । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै नेउपानेले विभिन्न नाममा गरिने अनावश्यक खर्चलाई कटौती गरेर आश्रित असहायहरुका लागि खर्च गर्न सबैलाई आग्रहसमेत गरे ।

युवा पत्रकार वीरेन्द्रकुमार साहले आफूले विगतदेखि नै मानव सेवा आश्रमसित नजिक भएर काम गरिरहेको सुनाए । सो आश्रममा ६० जना महिलाहरुले आश्रय लिएको मानवसेवा आश्रमकी स्वयमसेवक पार्वती तिवारीले जानकारी दिइन् । पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको तिवारीले बताइन् । सो अवसरमा व्यवसायी श्याम श्रेष्ठले खाद्य सामग्री प्रदान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्