विराटनगर । मोरङ प्रहरीले तीन मुख्य चाडवाड लक्षित विशेष सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । घटस्थापना नजिकीदै गर्दा जिल्लाभर विशेष सुरक्षा योजना अनुसारको प्रहरी निगरानी सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार चाडवाडको समयमा चोरीका घटना बढी हुनसक्ने संभावनालाई ख्याल गर्दै सादा पोशाकका प्रहरीको संख्या उल्लेख्य मात्रामा परिचालन गरिएको छ । त्यसपछि सीमा क्षेत्रबाट हुने अवैध आयात र लागुऔषध ओसारपसार नियन्त्रणका लागि थप सशक्त टोलि परिचालन गरिएको छ ।
प्रवक्ता दाहालका अनुसार चाडपर्वमा घर छोडेर हिड्नेको संख्या उल्लेख्य हुँदा चोरीका घटना बढी हुने गरेका छन् । त्यसपछि मठ मन्दिर र बसपार्कमा हुने भीडभाडमा समेत चोरीका घटना बढी हुने गरेका छन् । प्रहरीले यो पटक पुरुष र महिलालाई नै सादा पोशाकमा समेत परिचालन गर्ने भएको छ । महिलाहरुको विशेष देखभाल गर्नेगरी महिला प्रहरीको संख्या समेत यस पटक उतिकै मात्रामा परिचालन गरिने दाहालले जानकारी दिएका छन् ।
धेरै प्रकारका अपराधका घटना हुनसक्ने संभाजित जोखिम मानिएका क्षेत्रहरुमा प्रहरीको पिकेट टोलि खटाईने छ । त्यसपछि सादा पोशाकका प्रहरी, अनि ठाउँठाउँमा सिआरभी प्रहरी टोलि तैनाथ हुनेछ । प्रवक्ता दाहालका अनुसार सीमा क्षेत्रबाट हुनसक्ने संभावित अवैध कारोबारमध्ये लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरीले कुकुरसहितको सुरक्षा योजना अगाडी सारेको छ । सीमापारबाट नेपाल भित्रनेको साथमा लागुऔषध आउनसक्ने संभावनालाई रोक्नका लागि प्रहरीले सीमा क्षेत्रमै डग स्क्यानिङ्ग गराउन थालेको छ ।