इजरायलमा अस्ताए सुनसरीका राजेश स्वर्णकार

इजरायलमा अस्ताए सुनसरीका राजेश स्वर्णकार

सुजता लिम्बू
विराटनगर। भनिन्छ ‘आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ, छोरा मरेको खबर आमालाई नसुनाइदिनु ।’ यस्तै, कैलासदेवी स्वर्णकारको जीवन यतिबेला गहिरो शोकमा डुबेको छ । थाहा छैन, यो शोकबाट तैरीन उनी कति पटक मुर्छा पर्नुपर्ने हो ।

त्यसो त उनी मात्रै शोकमा छैनन्, उनीसँगै घरपरिवारमा बादल छाएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ११ पट्वारी टोलका राजेश स्वर्णकारको इजरायलमा मृत्यु भएको खबर आइतबार साँझ परिवार समक्ष आयो । त्यही खबर सुनेको दिन देखियता ५० वर्षीया कैलाशदेवी अर्धचेत अवस्थामा छिन् । घरको कान्छा छोरा गुमाउनुको पीडा आमासँगै घरको सम्पुर्ण परिवारलाई बाहेक कसलाई थाहा हुँदो हो । राजेशको परिवारसँग दश दिन अगाडी मात्रै भिडियो कलमा कुराकानी भएको थियो ।

भर्चुअल संवाद नै राजेश र उनको परिवारका लागि अन्तिम बनिदिया । आईतबार साँझदेखि छोराको वियोगले पीडामा छटपटिएकी कैलाशदेवी बेहोस हुँदा घरको माहोल नै मौनतामा डुब्छ जब उनी बिउझिन्छिन् उनको रुवाईको आवाजले घरको पर्खालहरु छिचोल्दै बाहिरसम्म निस्किन्छ । लाग्छ, उनको रुवाइको आवाज हावाको झौँकासँगै मिसिएर राजेशले कहीँ कतैबाट सुनिरहेको होला झैँ महसुस गर्न सकिन्थ्यो । कैलाशदेवीको रुवाईलाई थाम्ने उनको श्रीमान् ५६ वर्षीय राजकुमार स्वर्णकार राजेशका बुवाका हात, मन मस्तिष्क सबै मौनतामा हराए झैँ भएको थियो । सायद, छोरा मान्छे भएर रुनु हँदैन भन्ने भनाईले पनि होला राजेशको बुवाको आँशु आँखाको डिलदेखि बाहिर निस्किन नसकेको हुँदो हो । तर, उनको मौनताभित्र गहिरो चोट दबिएको महसुस गर्न सकिन्थ्यो ।

त्यसो त राजेशले तीन दिन अगाडी मात्र फोनमा कुराकानी गर्दै घरमा मंगलबारसम्ममा ‘घर खर्च’ पठाइदिने वाचा गरेका रहेछन् । इजरायल पुगेपछिको आफूले काम गरे बापत पहिलो महिनाको तलबबाट एक लाख रुपैयाँ घरमा पठाईदिने कुरा गरेका रहेछन् ।
लामो स्वास फेर्दै राजेशका बुवाले भने,‘पैसा पठाइदिन्छु भन्थ्यो, छोरासँग गफ हुँदै थियो आज दैव लाग्यो ।’ पुनः मौनतामा छाएको राजेशको परिवारले आतङ्ककारीको हमलाबाट छोरा गुमाउनु पर्ने पीडा सहनुपर्छ भन्ने सोँचेका पनि थिएनन् ।

तर, पनि शनिबारदेखि गाजा क्षेत्रबाट लगातार इजरायलमा हमला भएको खबर पढे र सुने देखियता स्वर्णकार परिवार त्रसित त थिए । बा र आमाको मन नआतिएको पनि होइन् तर, जसरी परिवारको मन चिसिएको थियो अतिएको थियो सोही अनुसार अतास लाग्दो खबर सुन्न परेको राजेशको दाई मुकेश बताउछन् ।
‘हमला पछि राजेशसँगै काममा खटिने अन्य साथीहरुलाई सोध्दा राजेश आफूहरूसँग बङ्करमा नरहेको’ खबर पाएका थियौँ, नजिकको अरू बङ्करमा लुकेर बसेको हुन् सक्ने खबर घरमा आई पुगेको थियो ।’ उनले भने,‘यताबाट गरेको फोन नउठ्दा थोरै शङ्का त लागेको थियो, तर हामीलाई धेरै आश थियो ।’मुकेश राजेकको जेठा दाई हुन् ।

आँखाबाट खस्न लागेको आँशु थाम्दै मुकेशले आइतबार साँझ सामाजिक संजालमा इजरायलमा ज्यान गुमाएका नेपालीहरू भने मृतकको ‘लिस्ट’ सार्वजनिक हुँदासम्म भाई गुमेको खबर पत्तो नपाएको सुनाए । उनले भने,‘पल्लो घरको भाउजूले भाइको नाम देख्नु भएछ फेसबुकमा, त्यही ल्याएर हामीलाई देखाउनु भएपछि अनि त।।।।।।उनी मौन भए’

टिकापुरमा बीएस्सी एजी सकेर ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत २८ दिन अघि मात्र इजरायल पुगेका २३ वर्षीय राजेश स्वर्णकार सानैदेखि पढाइमा अब्बल थिए । उनी छात्रवृत्ति मार्फत टिकापुरमा पढेका थिए । त्यहीबाट स्नातक तहको पढाइ सकेर विश्वविद्यालयकै मागमा ११ महिनाको लागि इजरायल उडेका थिए । दश दिन अगाडी मात्र घरमा भिडियो कलमार्फत देखाउदै राजेशले आफू गाँजा क्षेत्रको सिमाना भएको बताएका थिए । सिमाना क्षेत्र अलि विवादित रहेको र ’युद्ध हुन सक्छ’ भन्दा परिवार निक्कै आतिएका थिए । त्यसो त उनले युद्ध हुन सक्ने भन्दै भिडियो कल मार्फत युद्धबाट बच्न उ त्यो बङ्करहरु हो भन्दै भनेका पनि थिए ।

स-परिवारसहितको भिडियो कलमा राजेशले भनेको स्मरण गर्दै उनका दाईले भने,‘युद्ध भयो भने यहाँ छिर्ने हो।’ तर, दश दिन अगाडी देखएको युद्धबाट बच्न बनाइएको बङ्कर त्यही बङ्करभित्र पस्न नपाउँदै राजेश इजरायलको माटोमा बिलाए ।

उनका दाई भाईको सम्झनामा भक्कानिदै भन्छन्, ’मलाई त इजरायल भनेको थियो, सुरक्षित नै छ भनेको थियो सिमानामा पर्छ भन्ने थाहा पाएको भए म त जानै दिन्न थिए ’ त्यसो राजेश इजरायल जाने निणर्यमा परिवारका सदस्यहरू तयार थिएनन् । इजरायल जानुभन्दा अरू कुनै ‘राम्रो देश’ जान राजेशलाई परिवारले सुझाएका समेत थिए । तर, उनले इन्टर्न पनि हुने र अलेली पैसा पनि हुने भन्दै ११ महिनाका लागि भन्दै इजरायल जानका लागि परिवारले स्वीकृति दिएको थियो ।

पढाईको कारण धेरै समयदेखि घर बाहिर नै रहेकाले राजेश परदेशिए पनि कसरी बस्छ भन्ने परिवारमा चिन्ता भने त्यति थिएन । चार दाजु भाइ मध्ये तेस्रो सन्तान रहेको राजेशकी आमाले घरको काम गर्दै छोराहरू हुर्काए । उनको बुबा राजकुमार कोशी गाउँपालिका चौथो तहमा काम गरिरहेका छन् । कृषि पृष्ठभूमिबाट हुर्केका राजेशको परिवारमा चार छोरा मध्ये तीन छोरालाई इन्जिनियरिङ पढाएका उनले राजेशलाई भने कृषि पढाएका थिए ।

कृषि पढेको भन्दा पनि पढेपछि विद्यार्थीहरूलाई सुरक्षित क्षेत्रको सट्टा विवादित सिमाना काम गर्न पठाएको भन्दै स्वणर्कारको घर पुगेका प्रशासकहरूसँग राजेशका दाई मुकेशले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्