बिबेक पोखरेल
दशैँ सुरु हुनै लाग्दा ” दशैँ बहिस्कार” नामका शिर्षकले सामाजिक संजाल भरिन थाल्छन। अझ भनौ दशैँ बहिस्कार गर्ने यो पर्व पनि दशैँ जस्तै चाड हो। यसलाई नाम चलेका केहि नेपाली अनलाईन मिडियाले साथ दिएको पाईन्छ।
दशैँ प्राय असोज महिनामा मनाईने गरिन्छ। दशैँ बारे अझ गहिरिएर अध्ययन गर्ने हो भने बर्ष दिनमा ४ ओटा दशैँ हुने गर्दछ। दशैँलाई ऋतुको पर्वको रुपमा लिईने गरिन्छ। ४ ओटा ऋतुका ४ पर्व हुने गर्छन। जस्तै मङ्सिरमा नयाँ अन्न भित्राउदा न्वागी खाईन्छ। जसको अर्थ नवअन्न हो। आफुले जे खान्छौ त्यो आफ्नो पितृ, कुल देवता र देविलाई चडाउछौ । हेमन्त ऋतुको हेमन्टिक भनेको पौष शुक्ल पक्षमा मनाईने दशैँ हो। यसमा दुर्गा भवानीले भोजन गर्नु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ। चैत बैशाखको महिना वसन्त ऋतुको हो। चैत शुक्लमा नवरात्रालाई बासनटिका पनि भनिन्छ। जहाँ दुर्गा भवानी सुत्नु हुन्छ भन्ने मान्यता रहेको छ। जेठ असार गृष्म ऋतुको महिना हो। यस महिनाको असार शुक्ल पक्षमा दशैँ मनाईने गरिन्छ। यस महिनामा दुर्गा भवानीले कोल्टे फेर्नु हुन्छ भन्ने मान्यता रहेको छ। र अन्तिममा असोज महिनामा मनाईने दशै जुन शरद ऋतुमा पर्दछ। यसरी दशैँ बारे गहिरिएर अध्ययन गर्ने हो भने बर्षदिनमा ४ ओटा दशै रहेका छन तर अस्तित्वमा चैते र असोजको दशैँ मात्र रहेका छन।
हरेक बर्ष असोज महिनाको दशैँ नेपालमा हर्षोलासका साथ मनाईने गरिन्छ। तर यस पर्व आउन साथ बहिस्कार गर्ने नाममा विभिन्न अभियान नै हुने गर्दछन। त्यसको अगुवाई आदिवासी जनजातीका नाममा खुलेका संस्थाहरुबाट हुने गर्दछ। र दशैँको समाप्ती सङ्गै बहिस्कारको बहस, अभियान पनि सकिन्छ।
किरातीहरुले चर्को स्वरमा दशैँको बहिस्कार गरे पनि सम्पुर्ण किरातिले दशैँ बहिस्कार गरेको पाईदैन। निधारमा सेतो टीका, कानमा जमरा लगाउने, मिठा मिठा खाने, राम्रो लगाउने, आफन्तजन भेट्ने कामबाट दशैँ मनाएको प्रशस्त देख्न सकिन्छ। यसरी हेर्दा अधिकांश किरातिले दशैँ मनाएको पाईन्छ। एक हातले टीका लगाई दिएर अर्को हाटले दशैँ बहिस्कारको नारा लेखेको भन्ने बुझ्न सकिन्छ। किरातिको धार्मिक ग्रन्थ मुन्धुममा दशैँ बारे कहि कतै केही उल्लेख भएको पाईदैन। त्यसबाटै किरातिले दशैँ बिरोध गर्ने प्रमुख आधार पाईन्छ। मुन्धुम किरातिहरुको समग्र जीवन शैली हो। त्यसैले मुन्धुममा उल्लेख नभएको पर्व मनाउन जरुरी पनि भएन।
दशैँ हिन्दुहरुको निम्ति धार्मिक चाड भएपनी यो अहिले सांस्कृतिक चाड भैसकेको छ। दशैँ धार्मिक मात्र नभएर समग्र नेपालको सांस्कृतिक पर्व नै भैसकेको छ। धार्मिक चाडको रुपमा हिन्दु धर्मावलम्बीले घटस्थापना देखि लिएर कोजागत पुर्णिमा सम्म धार्मिक अनिष्ठानका साथ मनाउने गर्छन। तर यसको सास्कृतिक अभ्यास भने अन्य सम्प्रदायले गर्ने गरेको पाईन्छ।
दशैँको सुरुवातनै सांस्कृतिक रुपमा भएको हो। धार्मिक रुपमा मनाउने हो भने चैत महिनामा मनाउनु पर्ने हुन्छ। रावण माथी रामको जित भएकोले असत्य माथी सत्यको जित भन्ने भनाईसाथ दशै मनाउन थालिएको भन्ने हिन्दु मिथोलोजि रहेको छ। जुन चैत महिनामा पर्छ। तर, चैतमा खडेरी, गर्मी, धुवाँ, धुलो, अनिकाल आदि प्रतिकुल अवस्था भएपछि अनुकूल मौसमको खोजीमा दशैँ शरद् ऋतुमा सारियो।
यो बेला स्वच्छ मौसम, हिलो मैलो नहुने, अन्नबाली र फलफुल पाक्न थाल्ने, बर्खाको महिना भएर खोलानाला सुक्दै जाने भएकोले भेटघाटको निम्ती सहज हुने जस्ता कारणले शरद ऋतुको दशैलाई महत्वपुर्ण बनायो। दशैँ चाडमात्र नभएर एकता, भाईचारा र सद्वावको पर्व हो।घर छोडेर परदेश गएकाहरु फर्कने अनिकुल समय दशैँ बनेको छ। बर्षै परदेशमा जीवन बिताएकाहरु घर फर्कने समय दशैलाई बनाउने गर्छन,पढाई रोजगारका निम्ति शहर गएकाहरु गाउँ फर्कन्छन। जसले गर्दा दशैँको समयमा गाउँको माहोललाई बर्षभरीकै रमाईलो बनाउछ।
देशको कुल जनसंख्याको धेरै भाग कृषिमा आधारित भएको नेपालमा बर्षायाममा हुने खेतिपातिको थकाई मेट्ने अवसर पनि दशैँ हो। कतिपय मानिसहरु मीठो मिठो खान र राम्रो लगाउन पनि दशैँ पर्खिरहेका हुन्छन। बालबालिकालाई दशैँमा नयाँ लुगा लगाएर हिड्नुको मजानै बेग्लै हुन्छ।
मनोरञ्जनको अधिक साधन नभएको पहिलेको समयमा नाचगान, खेलकुद र नाटक गर्ने उपयुक्त समयनै दशै हुने गर्थो। रोटेपिन्ङ, लिङ्गेपिङ्ग, मेलाले गाउघरको रौनकता नै उच्च बिन्दुमा पुगेको हुन्थ्यो। जुवा तास,लर्जुबुजामा रमाउने समय पनि दशैँ नै हो। यी सारा क्रियाकलाप दशैँको धार्मिक पक्षसङ्ग सम्बद्द हैनन। यिनिहरु सम्पुर्ण दशैँको सांस्कृतिक क्रियाकलाप पर्दछन।दशैँलाई धार्मिक हिसाबमा बहिस्कार गर्न सकिए पनि सांस्कृतिक रुपमा बहिस्कार गर्न सकिने छैन। किराँतीहरु दशैँको धार्मिक अनुष्ठानसँग सरोकार राख्दैनन्। घटस्थापनामा जमरा राख्ने र दशमीमा टीका थाप्नेबाहेक अरु क्रियाकलाप छाड्दै गएको पाईन्छ। नवदुर्गाको पूजा गर्ने, फुलपाती भित्र्याउने, नवमीमा मार हान्ने र कोजाग्रत गर्ने जस्ता अनुष्ठानहरु किराँतीहरुले गर्दैनन्। बरु दशैलाई कतिपय किरातीहरुले छुट्टै साँस्कृतिक पर्वको रुपमा विकास गर्दै लागि रहेको पाइन्छ।
अधिकांश किराँतीलाई दशैँ आफ्नो चाड होइन भन्ने थाहा हुदा हुदै यही सांस्कृतिक महत्वको कारण आज दशै मनाइरहेको छ। जसले बहिस्कार अभियान चलाइरहेको छ उसैले दशैँको टीकाबाहेक अरु क्रियाकलाप बहिस्कार गर्न सक्ने अवस्था पनि छैन। त्यहि पनि दशैँलाई चट्ट छाड्न नसकेर मनाईनै रहेका छन। नेपालमा मात्र हैन देश बाहिर सिक्किम, दार्जिलिङ, भुटान र म्यानमार जस्ता नेपाली भाषिको उल्लेख उपस्थित रहेको ठाउमा दशै धुमधामका साथ मनाउने गरिन्छ।
दशैँका अनेकौँ धार्मिक र सांस्कृतिक आयाम छन जसलाई बहिस्कार गरेर सकिन्न न त त्यस्तो अवस्था नै छ अहिले। अर्कोतर्फ हिन्दूको चाड भनेर दशैँ बहिस्कार गर्नेहरुले तिहार, छठ, कुसे औँसी, तिज, कृष्ण जन्माष्टमी आदि हिन्दू चाडपर्वलाई बहिस्कार गरेको पाइँदैन। अझ भन्ने हो भन्ने क्रीसमसजस्तो आयातित पर्वको समेत विरोध गरेको पाइँदैन।दशैमा बलिप्रथाको बिरोध गर्नेले ईसाईको क्रीसमस होस या ईस्लामको इदमा गर्ने कुर्वानीको बिरोध गरेको पाईदैन।वास्तवमा दशैँ बहिस्कार एक ‘राजनीतिक फण्डा’ मात्र भएको छ। राजनीतिक रुपमा कुनै व्याक्ति वा समूहलाई जनतासम्म पुग्न दशै बहिस्कारको राजनीतिले सजिलो बनाएको छ। दशैँ मान्न र नमान्न दुवैमा सबैलाई स्वतन्त्रता छ। तर कसैले मानिआएको चाडपर्व बहिस्कार नै गर्नु कति को न्यायोचित हो? के हिन्दू वा मुसलमानले ‘क्रिसमस बहिस्कार’ गर्नुको अर्थ हुन्छ? बहिस्कारको राजनितिले धार्मिक सहिष्णुतालाई समाप्त गरेर द्वन्द निम्त्याउछ।