‘रातो टिका’ लगाएर दशैँ मनाउँछन् गैरहिन्दुहरु

‘रातो टिका’ लगाएर दशैँ मनाउँछन् गैरहिन्दुहरु

सुजता लिम्बू
विराटनगर । ‘दशैँलाई म हिन्दु मात्रैको भन्दा पनि राष्ट्रिय पर्व हो भन्ने रुचाउछु।’ हाँस्दै सुनाउछन् विराटनगरका वोसिम आलम । उनी मुस्लिम समुदायका हुन्। उनी प्रत्येक शुक्रबार नमाज पढ्न मस्जिद जान्छन् ।

मुस्लिम समुदायको हरेक सांस्कृतिक परम्पराप्रति उनको गहिरो लगाव छ। उनको अर्को विशेषता पनि छ। उनी मुस्लिम समुदायमा जन्मे हुर्केको भए पनि हिन्दुहरूको प्रत्येक चाडपर्वलाई चासो र लगावका साथ मनाउने गर्दछन्। तिहार होस् या रक्षाबन्धन चेलीबेटीको हातबाट ग्रहण गरिरहेका हुन्छन्। दशैंमा मान्यजनहरूको हातबाट रातो टीका निधारमा टलक्क टल्काएर जमरा कानमा सिउरिरहेका हुन्छन्।
कुनै पनि धर्म संस्कृतिले अन्य समुदायको धर्म संस्कृतिलाई निषेध गर्न नहुने बताउने उनी दशैँ तिहार बाल्यकाल देखि नै मनाउदै आएको बताउछन् ।

‘ नमाज पनि पढ्छु तर, हरेक चाडपर्वलाई सम्मानका साथ ग्रहण गर्छु’ उनले भने, ‘धर्मको व्यापार गर्नेहरूले कट्टरपन्थी कुरा गर्छन, कुनै पनि धर्मले समाजमा केही असर गर्दैन, एकले अर्काको चाडपर्वलाई सम्मानका साथ स्वीकार गरे समाजमा सकारात्मक सन्देश दिन्छ।’ त्यसो त उनले अन्तरजात मात्रै होइन अन्तरधार्मिक जीवनसाथी आफ्नो जीवनमा प्रवेश गरेका छन् । राई समुदायकी श्रीमती भएकाले उनी ससुरालीमा जाँदा सेता टिका ग्रहण गर्ने गरेको सुनाउछन् ।

‘म आर्य समुदाय आफन्तकोमा जाँदा रातो टिका लगाइदिनुहुन्छ म लगाउछु । मेरो श्रीमती राई भएकाले ससुरालीमा सेतो टिका लगाइदिनुहुन्छ म ससुरालीमा सेतो टिका लगाउछु ।’ उनी सुनाउछन्,‘ समुदाय अनुसार पर्व मान्ने चलन फरक फरक हुन्छ । समुदाय अनुसार पर्व मनाउने शैलीलाई सबैले स्विकार्नुपर्ने हुन्छ । ’मुस्लिम समुदायको इद पर्वको दिन अन्य समुदायका साथीहरूले शुभकामना दिने आफूहरूसँगै प्रसाद ग्रहण गर्दा यसले थप एकता र आत्मियता बढाएको उनको बुझाइ छ।

यता, विराटनगरस्थित अमर टोलका भुषण लिम्बू आदिवासी समुदायको भएपनि रातो टिकासहित आर्शिवाद ग्रहण गर्ने गरेको सुनाउछन् । अधिकांश आधिवासी समुदायहरुले सेतो टिका लगाउने गरेको भएपनि उनको घरमा रातो टिका नै चलाउने भएकाले सँधै रातो टिका जमरा लगाएर नै ठूलाको आर्शिवाद थाप्दै आएको बताउछन् ।

‘आदिवासी समुदायमा सेतो टिका लगाउने चलन छ तर हामी रातो टिका नै लगाउछौँ, सबै जातजाति, धर्म र समुदायहरुको पर्वलाई सम्मानका साथ स्विकार्नुपर्छ,’ उनी सुनाउछन्,‘ म चासोक तङ्नाम पनि मनाउछु यो सँगै चासोक तङनामलाई अन्य समुदायले पनि मनाउने वातावरण हामीले नै बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्