विराटनगरमा हालत छ कोशी राजमार्ग, सवारी गुड्ने भन्दा पार्किङ धेरै

विराटनगरमा हालत छ कोशी राजमार्ग, सवारी गुड्ने भन्दा पार्किङ धेरै

विराटनगर । राष्ट्रिय राजमार्गको सुन्दरता त्यसको व्यवस्थापनबाट झल्कन्छ । यसको महत्व अन्तराष्ट्रियस्तरसम्म पनि रहने गरेको हुन्छ । तर, नेपालमा राष्ट्रिय राजमार्ग सवारी आवागमनका लागि मात्रै प्रयोग भने हुने गरेको पाइदैन । त्यसमा पनि राजमार्गसँगै समेटिएका शहरी क्षेत्रमा भने सवारी आवागमन भन्दा धेरै सवारी पार्किङका लागि राजमार्ग प्रयोग हुने गरेको पाइन्छ ।

कोशी राजमार्ग अन्तर्गत रानी–धरानको विस्तार छलेन सडक आयोजना इटहरीले गर्दै आएको छ । आयोजनाले निर्धारत क्षेत्रमध्ये ३२ किलोमिटर दुरीको सडक सम्पन्न गरिसकेको छ । सम्पन्न भएको सडकमध्ये शहरी क्षेत्र समेटिएका स्थानमा भने पार्किङका लागि बढी प्रयोग भएको पाइन्छ ।

छ लेन सडक अन्तर्गत विराटनगरको रानीदेखि ढाटसम्मको सडक पार्किङ व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहको हुन्छ । स्थानीय तहले ट्राफिक प्रहरीसँग समन्वय गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने स्पष्ट प्रावधान रहेको छ । तर, छ लेन सडक अन्तर्गत रानी–ढाटको क्षेत्र सबैभन्दा धेरै दुरुपयोग भएको सडक क्षेत्रसँग सम्बन्धित अधिकारीहरुको गुनासो छ । यो गुनासो एक पटक नभई बारम्बार दोहोरिने गरेपनि विराटनगर महानगरपालिका क्षेत्रमा राजमार्ग पार्किङ व्यवस्थापन भएको छैन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टाफिक व्यवस्थापन कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक मोहन बिक्रम दाहालले राजमार्ग कुनैपनि सवारी पार्किङ निषेध क्षेत्र मानिएको जानकारी दिए । यद्यपी सवारी आवागमनलाई अवरोध नहुने गरि पार्किङ हुने गरेको कुरा उनले बताए । तर, राजमार्गको मापदण्ड विपरित भईरहेको सवारी पार्किङलाई न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए । उनले स्थानीय तहको क्षेत्र भित्रको पार्किङ व्यवस्थापनका लागि स्थान दिने काम स्थानीय तहले नै गर्नुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाले अहिलेसम्म राजमार्ग क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने स्थान तोकिनसकेका कारण ट्राफिक प्रहरीले कार्यन्वयन गर्न नसकेको उनको दावी छ ।

संघीय सरकार मातहतका इकाई तथा संरचना व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय प्रशासनको समेत हुन्छ । जिल्लामा संघीय सरकारको अख्तियार प्राप्त निकाय जिल्ला प्रशासन कार्यालयले राजमार्ग पार्किङ हटाउन बारम्बार छलफल गरेपनि निष्कर्ष भने कहिल्यै निस्कन सकेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले हाईवे पार्किङ व्यवस्थापनको काम पनि स्थानीय तहकै हुने बताएका छन् । उनले जुन दुरीसम्म जुन स्थानीय तहमा पर्दछ त्यसले त्यहाँको पार्किङ व्यवस्थापनको वातावरण मिलाउनु पर्ने र ट्राफिक प्रहरीले कार्यन्वयन गराउनु पर्ने बताए ।

मोरङका प्रहरी प्रमुख दिपक पोखरेलले सुरक्षाका हिसाबले समेत संवेदनशील मानिएको विराटनगर आसपासका सडकको पार्किङ व्यवस्थापनमा विशेष सुरक्षा चासो रहनु पर्ने बताएका छन् । उनले स्थानीय सरकारले पार्किङस्थल उपलब्ध गराउने र ट्राफिक प्रहरीले त्यसको व्यवस्थापन गर्ने कुरालाई यथाशक्य पहल लिनुपर्ने बताएका छन् । सुरक्षाका हिसाबले पर्नसक्ने असजिलो बहुआयमिक रहेका कारण राजमार्ग क्षेत्रमा गरिने पार्किङमा कडाई हुनुपर्ने बताएका छन् । एसपी पोखरेलले मापदण्ड विपरित सञ्चालनमा रहेका होटल, विद्यालय, व्यापार र व्यवसाय समेतका सवारी राजमार्गमा पार्किङ हुने कुरा सुरक्षासँग जोखिमसँग जोडिएर आउने बताउँदै यसका लागि स्थानीय तहले पहल लिनुपर्नेमा जोड दिए ।

छ लेन सडक आयोजना इटहरी कार्यालय इन्जिनियर प्रियंका झाले राजमार्ग निर्माण जुन प्रयोजनका लागि भएको हो, त्यहि प्रयोजन अनुसार प्रयोग नहुनु दुःखद् रहेको बताइन् । उनले स्थानीय प्रशासन र स्थानीय तहसँग सुरक्षा संयन्त्र हुने भएकोले यसको कार्यन्वयनमा चासो राख्दा संभव रहेको बताइन् । सडक आयोजनाहरुले काम सकेर सडक विभागलाई बुझाउने र बाँकी कुराहरु सडक विभागले मिलाउन पर्ने उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्