विराटनगरको केन्द्र ट्राफिक चौक : ट्राफिक प्रहरीकै भवन जीर्ण

विराटनगरको केन्द्र ट्राफिक चौक : ट्राफिक प्रहरीकै भवन जीर्ण

विराटनगर । विराटनगरको केन्द्रको रुपमा महेन्द्रचौक र ट्राफिक चौकलाई मानिन्छ । शहरको विस्तार क्रमशः उत्तरतर्फ सर्दै जाँदा त्यसले चर्चेको क्षेत्रको मध्यभागलाई केन्द्र मान्नुपर्ने हुन्छ । तर, ट्राफिक चौक दक्षिण समेत ठूलो भू–भाग समेटिएका कारण विराटनगर महानगरपालिकाको केन्द्रको रुपमा ट्राफिकलाई नै चिनिन्छ ।

शहरको केन्द्रभागमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन छ । जीर्ण भवनको जीर्णोद्वार पनि छैन, नयाँ बनाउने योजना समेत अगाडी बढ्न सकेको छैन । भवन संरचना जीर्ण भइसकेको छ । भवन भित्र झ्याल भाँचिएका छन् । भित्ता चर्केर पल्स्टर फुसफुस झर्ने गरेको छ । कंक्रिट संरचनाको सिमेन्ट क्रमशः धुलिएर झर्दा रड देखिन थालेका छन् । खाना पकाउने र खाने ठाउँ समेत टालटुले छ ।

शहरको केन्द्रभागमा रहेको ट्राफिक प्रहरीको भवनमा ५० जनाको संख्या हाराहारीमा प्रहरी बस्दछन् । दिनभर सडकको धुँवा र धुलोमा बित्ने उनीहरुको रात भने सुविस्ताको विस्तारामा बित्दैन । हिउँदमा जेनतेन चलेपनि वर्षात्को समयमा भवनमा पानी सिपेच भएर तप्पतप्प चुहिने गरेको गुनासो छ ।
वि.सं.२०३५ बनेको उक्त संरचना अहिले शहरको आवश्यकता अनुसारको आधुनिक समेत छैन । लगातारको प्रयोगले त्यसको म्याद समेत सकिएको छ । त्यसमा पनि भूकम्पको धक्काले भवनलाई अझै जीर्ण बनाई दिएको छ ।

नयाँ संरचना बनाउन आवश्यक भएको भन्दै पटक पटक कुरा उठ्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयमार्फत यसको कारवाही हुनुपर्ने भएपनि बजेटको स्रोत सुनिश्चित नहुँदा काम भने अगाडी बढ्न सकेको छैन । वि. सं. २०७८ सालमा तत्तकालिन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रबहादुर खड्का हुँदा यसका लागि स्थानीय तह र प्रदेश सरकारमार्फत बजेटको पहल गरिएको थियो । संरचना बनाउन भन्दै गुरुयोजना समेत तयार पारिएको थियो । प्रदेश सरकारको भौतिक योजना मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयको बहुवर्षे योजनामा पाँच तले नयाँ भवन बनाउने प्रक्रियाको थालनी गरिएको थियो ।

शहरी विकास तथा भवन निर्माण कार्यालयले इन्टरफेस इञ्जिनियरिङ प्रा.लि. कोटेश्वर काठमाडौंलाई भवनको डीपीआर तयार पार्न समेत दियो । पाँच करोडको लागतमा अपाङ्गमैत्री एवं महिलामैत्री भवन निर्माण गर्ने डिपिआर तयार भएपनि बजेट पर्याप्त आएन । त्यसमा ट्राफिक प्रमुखको आवास, अन्य प्रहरीको आवास र मेससहितको कार्यालय बनाउने योजना थियो । बहुवर्षे योजनाका लागि वार्षिक १५ लाख मात्रै बजेट आएपछि दुईवर्षसम्म यसको काम हुन नसक्दा फ्रिज भएको थियो । बहुवर्षे योजनामा एक आर्थिक वर्षका लागि कम्तिमा एक करोड बजेट हुँदा मात्रै टेन्डर आह्वान गर्न मिल्ने प्रावधान रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपानेले जीर्ण भवनबाट सेवा प्रवाह गर्न कठिनाई भईरहेको बताएका छन् । उनले भवन निर्माणका लागि आवश्यक पहल लिन तालुक कार्यालयसँग आग्रह गरिरहेको जानकारी दिएका छन् । उनले ट्राफिक प्रहरीको दैनिक कारवाहीपछि नियन्त्रणमा परेका सवारी पार्किङ गर्ने स्थान समेत नभएको गुनासो गरे । नियन्त्रणमा लिइएका सवारी लामो समयसम्म राख्नुपर्ने अवस्था आए हाटखोला चौकीमा पठाउनु पर्ने अवस्था रहेको छ । प्रमुख न्यौपानेले भवन निर्माण नहुँदासम्म सवारी पार्किङका लागि स्थानीय तहले स्थान उपलब्ध गराई दिए दैनिक कामकारवाही थप प्रभावकारी हुने बताए ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्