उखुको जुससँग तीन दशकको सम्बन्ध : स्वस्थकर मान्ने, जीविका धान्ने

उखुको जुससँग तीन दशकको सम्बन्ध : स्वस्थकर मान्ने, जीविका धान्ने

सुजता लिम्बू
विराटनगर । बर्खामासको झरी होस् या चैत–बैशाखको प्रचण्ड गर्मी । हिँउदले विस्तारै स्वागत गर्दै गरेको शित्तल मौसम नै किन नहोस् ५५ वर्षीय हिरा साह उखु पेल्ने मेसिनसहित ठेला लिएर सडकमा निस्किन्छन् । विराटनगर–११ नेपाल बजारको गल्लिमा सँधै भेटिने साह बाटोमा यात्रा गर्ने यात्रुहरुलाई उखुको जुस तयार गर्न भ्याइनभ्याइ हुन्छन् । उखु पेल्ने मेसिन र ठेलासँग उनको सम्बन्ध तीन दशक देखि निरन्तर छ ।

यही पेसाबाट आफूसहित ६ जनाको परिवारको भरथेग राम्रैसँग चल्दै आएको उनी सुनाउछन् । उनी भन्छन्,‘तीस वर्ष भयो मैले उखुको जुस ठेलामा पेल्दै बेचेको यसैले मेरो परिवार पालिरहेको छु । ’ उनको दुई छोरा छन् उनीहरु पनि अहिले कमाउने भएका छन् ।

दुई छोरीको विवाह गरिदिए । छोराको कमाई भएपनि एकदुई पैसा आफै कमाउने बानी भएकाले घर बस्न त्यति मन नलाग्ने उनी सुनाउछन् । ‘यही व्यवसायले मेरो छोराछोरी पढाए, बढाए दुई छोरा छ, छोरीहरुको विवाह पनि गरिदिए । छोरोहरुका कमाई छ दिन्छन्,’ उनी भन्छन्,‘ आफै कमाउने बानी भएछ, घरमा यतिकै बस्नु मन लाग्दैन ।’ धेरै जस्तो जन्डिसको बिरामी भएकाहरु आफूकहाँ जुस लिन आउने गरेको उनी बताउछन् । तीस वर्ष अगाडी पचास पैसा (आठाना) ग्लासले उखुको जुस बेच्दै आएको विगत स्मरण गर्दै उनले सुनाए । उनी हाँस्दै भन्छन्,‘समयसँगै पैसाको पनि अंक बढ्ने रहेछ, अहिले ५० रुपैँया ग्लास बेच्दै आइरहेको छु ।’

हात खुट्टा चलुन्जेल पेसाबाट विश्राम नलिने बताउने उनी दैनिक व्यापारको अनुमान नै लगाउन नसकिने बताउछन् । दैनिक कति कमाउनुहन्छ भन्ने प्रश्नमा उनी खित्का छोडेर हाँस्दै भन्छन्,‘अनुमान नै लगाउन सकिँदैन खाली हात घर जान्न, आफूलाई खानुपुगेको छ ।’

यस्ता छन्, उखुको जुसको फाइदाहरु ?
उखुको जुसको सेवनले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाएर राख्न विषेश मद्दत गर्नुका साथै पिसाब सम्बन्धी समस्याबाट पनि मुक्ति दिलाउछ । यस्तै उखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो र स्वास्थ्य बनाउँछ । उखुको जुसका सेवनले कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ अर्थात कलेजोमा संक्रमण हुन दिँदैन । उखुको रसमा प्रशस्त मात्रामा ग्लुकोज पाइने हुँदा यसले शरीरलाई शक्ति तथा ऊर्जा प्रदान गर्नमा मद्दत गर्छ । उखुको जुसको सेवनले पिसाबको इन्फेक्सनका समस्याका लागि अधिक लाभ मिल्छ। साथै मिर्गौलालाई स्वस्थ राख्छ । दाँत सम्बन्धी समस्यामा उखुको जुस खाँदा लाभ मिल्छ । किनकी उखुको रसमा क्याल्सियम र फोस्फोरस अत्याधिक मात्रामा पाइन्छ ।

उखुको जुसमा साधारण गुलियो पदार्थ हुने हुँदा तुरुन्त शरीरमा ऊर्जा सिर्जना हुन्छ र थकान कम महसुस हुन्छ । उखुको जुस सेवनले जण्डिसका बिरामीलाई समेत लाभ हुन्छ । तर मधुमेह रोगको बिरामीका लागि भने उखुको रस सेवन गर्नु लाभदायक मानिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्