विराटनगर–४ का दिलिप सुवेदी झापाको सुरुङ्गास्थित टेलिकम अफिसबाटै ५१ दिनदेखि वेपत्ता

विराटनगर–४ का दिलिप सुवेदी झापाको सुरुङ्गास्थित टेलिकम अफिसबाटै ५१ दिनदेखि वेपत्ता

विराटनगर । गत भदौ ३० गते शनिबार बिहानदेखि विराटनगर–४ राजबंशी चौक घर भई झापा सुरुङ्गास्थित नेपाल टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी वेपत्ता बनेका छन् । छैंटौं तहका लेखा अधिकृत सुवेदी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा समेत थिए । २०७९ फागुनदेखि उनी सुरुङ्गामा हाँजिर भएका हुन् ।

गत भदौ ३० गते बिहान ८ः४७ सम्म आफ्नी श्रीमतीसँग उनी फोन संवादमा थिए । त्यसपछि उनीसँग घरपरिवारको सम्पर्क छैन । श्रीमती विराटनगरको घरमा अहिले आफ्ना श्रीमान्को प्रतिक्षा गरिरहेकी छिन् । सुवेदीका बुबा नेत्रप्रसाद सुवेदी छोरोको पिरमा आइतबार पत्रकार सम्मेलनकै क्रममा भक्कानिए ।
छोरो ५१ दिनदेखि वेपत्ता भएपछि बुबा नेत्रप्रसाद र दाजु लक्ष्मीले आइतबार पत्रकार महासंघ मोरङमा सुरक्षा संयन्त्रको सहयोग नपाएको गुनासो गरेका छन् । उनीहरुले प्रहरीले खोजतलासमा चासो नदिएको र नेपाल टेलिकमले आफ्नो कर्मचारी हराउँदा समेत कुनै वास्ता नगरेको बताएका हुन् ।

हराएको दिन बिहान दिलिपले त्यहि कार्यालयका सुरक्षा गार्डसँगै पसलमा आएर चिया पीएको देखिएको छ । त्यसपछि उनीहरु कार्यालय सँगै फर्किएका थिए । कार्यालय फर्किएपछि सुवेदी आफ्नो निवासमा छिरेको भएपनि त्यहिंबाट उनी वेपत्ता भएका थिए । उनी कार्यालय परिसरबाट बाहिर निस्केको नदेखेको गार्डले बताउँदै आएका छन् ।

प्रहरीमा परिवारले खोजतलासका लागि निवेदन दिएका छन् । प्रहरीले खास धेरै चासोका साथ खोजतलास नगरेको बुबा नेत्रप्रसादको गुनासो छ । जिल्ला प्रहरी कार्यालय झापाले केहि चासो दिए छोराको अवस्था पत्ता लाग्न सक्ने परिवारको बुझाई छ ।
उनी वेपत्ता हुँदा आफ्नो फोन साथमा रहेको देखिएको छ । त्यस बाहेक उनी सामान्य कपडामा चप्पल लगाएर वेपत्ता भएका हुन् । परिवारले संभावित क्षेत्रमा अनुसन्धानका लागि प्रहरीसँग आग्रह गर्दै आएको छ । प्रहरीले घरपरिवारसँगको कनेक्सन, बाँकी बाहिरी क्षेत्रको कनेक्सन, कार्यालयका सुरक्षा गार्डसँगको कनेक्सन लगायतका विषयमा कल डिटेल हेरेको बताएपनि नतिजा बारे जानकारी नदिएको उनीहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्