‘नेपालको कमाइले भएन, फेरी विदेश फर्कन्छु‘

‘नेपालको कमाइले भएन, फेरी विदेश फर्कन्छु‘

सुजता लिम्बू
विराटनगर । साँझले झपक्कै छोपेको विराटनगर बजार । मुख्य सडकखण्डमा आफ्नै रफतारले कुदिरहेको गाडीहरु । साँझलाई छिचोल्दै आफ्नो गन्तव्य पछ्याउने होडबाजीमा यात्रुको पर्खाइमा थिए इ–रिक्सा (सफारी ) का चालकहरु ।

महेन्द्र चौकको अस्तव्यस्त सडक छेउबाट एउटा आवाज आयो ,‘आजभोलि सफारी धेरै भयो बजारमा गाह्रो छ.....जानुहुन्छ?’, एकै स्वासमा गुनासो र प्रश्नको लर्को लगाएका थिए, शंखरदेव सिंहले । उनी मोरङ जिल्लाको कटहरी ४ का रहेछन् । उमेरले भर्खरै ४५ वर्षमात्रै पुगेको उनले आफ्नो उर्जाशील उमेर दुबहीमा नै बिताएर नेपाल फर्किएको सुनाए । करिब ५ मिनेटको यात्राको क्रममा उनीसँगको संवादमा बढ्दो महँगीले पुनः रोजगारीका लागि दुबही नै फर्किने विचार रहेको बताए ।

आफ्नो कमाईले दुईसन्तान श्रीमती सहित घरको सिंगो परिवारको जिम्मेवारी काँधमा बोक्नुपर्ने बाध्यता रहेको बताउने उनले सफारी आफ्नै लगानीमा खरिद गरेका रहेछन् । ‘एक्लो कमाई छ, विदेशमा हुँदा त परिवार पाल्ने कमाई हुन्थ्यो,‘ उनी भन्छन्,’ यहाँ त गाह्रो रहेछ, धन्न सफारी आफ्नै कमाईले किनेकाले किस्ता तिर्नुपर्दैन ।’ त्यसमा पनि एकै महिनामा परेको दशैँ र तिहारले समान्य कमाई हुनेको घरमा चाँडपर्व खुशी भन्दा पनि ऋणको भार बनेर आएको उनले सुनाए । दशैँ जसोतसो आर्थिक जोहो गरेर विदा गरे पनि तिहारमा ऋण खोज्नुपर्ने बाध्यता आएको उनले गुनासोसुनाए ।

उनी बेलाबेला सडकमा उभिएका मान्छेको भीडमा सफारी रोक्दै जाने हो ? भन्ने प्रश्नसँगै भन्छन्,‘ हुनेलाई दशैँ, तिहार हजुर नहुनेलाई त ऋणको बहार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्