जग्गा दलालले यसरी फसाए रतुवामाईमा ६० वर्षमाथिका पाँचजना किसान

जग्गा दलालले यसरी फसाए रतुवामाईमा ६० वर्षमाथिका पाँचजना किसान

विराटनगर । मोरङको रतुवामाई नगरपालिकमा किसानलाई जग्गा दलालले योजनामा फसाएको स्थानीयले दावी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचजना ६० वर्षमाथिका उनीहरु खेती किसानी गरेर गुजारा चलाउँदै आएका हुन् ।

जम्मा सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडी बढाइएको थियो । त्यसमा पक्राउ पर्नेहरु रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजबंशी, ६२ वर्षीया झरियादेवी राजबंशी, ६३ वर्षीय विष्णु राजबंशी, पैखन लाल राजबंशी र ६४ वर्षीय कन्हारु राजबंशी छन् । बाँकी दुईजना गुन्जीलाल र सनिता राजबंशी फरार सुचीमा रहेका छन् । उनीहरु विरुद्ध रतुवामाई नगरपालिका–३ का वडाअध्यक्ष देविलाल ताजपुरियाले सरकारी छाप दस्तखत किर्ते सम्बन्धि कसुरमा प्रहरीमा जाहेरी दिएका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भएपनि स्थानीयले उनीहरु निर्दोष रहेको दावी गरेका छन् । सातजनाको नाममा रहेको चार बिघा ७ कठ्ठा जग्गा जग्गा दलालमार्फत ८७ लाख रुपैँयामा किनबेचको लागि बैनाबट्टा गर्ने तयारी भईरहेको थियो । गत कार्तिक २ गते बैना गर्न उनीहरुलाई लेखनदास भए ठाउँमा बोलाइएको थियो । इटहरीका कृष्ण थापाले लक्ष्मी कार्की, निर्मला थापा समेतको नाममा जग्गा पास गराउने ब्रोकरको काम गरेका हुन् । त्यसमा लेखनदासमार्फत बैना गराउने कागज बनाएको भन्दै रजिष्ट्रेशनमा हस्ताक्षर गराएको खुलेको छ ।
मालपोतमा जग्गा पास गराउनु अगाडी वडामार्फत बैनाबट्टाको कागज गराउनु पर्ने हुन्छ । त्यसपछि वडाबाट घरबाटो सिफारिस लिनुपर्दछ । घरबाटो सिफारिस लिदाँ कर बुझाउनु पर्ने हुन्छ । जग्गा हत्याउन कर छल्ने हुँदा नक्कली सिफारिस जग्गा ब्रोकरहरुले नै बनाएको स्थानीयको दावी छ । त्यसमा वडा अध्यक्ष ताजपुरियाको समेत शंकास्पद भूमिका रहेको कतिपयको आरोप छ ।

पहिलो मिलेमतोमा काम भयो, पछि अफ्ठ्यारो पर्दा प्रहरीमा जाहेरी दिएको उनीहरुले दावी गरेका छन् । वडा अध्यक्ष ताजपुरियासँग कुरा गर्न खोज्दा उनी बारम्बार सम्पर्कमा आउन चाहेनन् । उनीँसग फोनमा कुरा गर्न खोज्दा भने‘ म मिटिङमा छु, पछि कुरा गरौंला ।’ जग्गाको विषयमा कुरा गर्ने वित्तिकै उनी झर्किएर पछि कुरा गरौंला भन्दैछु भन्दै तर्किए ।

नक्कली घरबाटो सिफारिस लिएर मालपोत पुगेका जग्गा कारोबारीहरुको कागजात शंकास्पद देखिएपछि प्रहरीमा खबर भएको हो । उनीहरु विरुद्ध कार्तिक १६ गते पक्राउ अनुमति लिएर मंसिर ९ गते पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
स्थानीयवासी सनम राजबंशीले जग्गा प्रकरणमा प्रहरीले कारोबारीको जालो बारे अनुसन्धान नै नगरी निर्दोष नागरिकलाई पक्राउ गरेको दावी गरेकी छिन् । उनका अनुसार बैनाका लागि बोलाएर रजिष्ट्रेशन पास गराएर जग्गा हत्याउने योजना बनेको विषय ओझेलमा परेको छ । पक्राउ पर्नेहरु सबै खेती किसानी गरेर गुजारा चलाउँदै आएका व्यक्तिहरु रहेका छन् । उनले जग्गा झुक्याएर पास गराएको विषयमा गाउँमा धेरै कुरा चलिरहेको थियो ।

वडामा घरबाटो सिफारिस लिदाँ कर वापत बुझाएको रकम सफ्टवेयरमा इन्ट्रि भएको प्रतिलिपि समेत नक्कली रहेको थियो । कर बाँडफाँडका लागि स्थानीय तहमा इन्ट्रि भएको डाटा मालपोतमा समेत स्वतः देखिने हुँदा नक्कली घरबाटो सिफारिस भएको देखिएको थियो ।
प्रहरीले घटनामा तत्काल सरकारी छाप दस्तखत किर्ते सम्बन्धि कसुरमा पक्राउ परेको पाँच र फरार रहेका दुई विरुद्ध अनुसन्धान सुरु गरेको छ । प्रहरी नायव उपरीक्षक रन्जन दाहालले भने पक्राउ परेकाहरुको बयानका आधारमा यसको अनुसन्धान थप कोणबाट समेत हुनेछ । पक्राउ परेकाहरु ६० वर्षमाथिका रहेका कारण उनीहरुले घरबाटो सिफारिस लगायताका काम समेत जग्गा खरिद गराउने ब्रोकरलाई जिम्मा दिएको दावी स्थानीयको छ । ब्रोकर कृष्ण थापाले जग्गा धनीका नाममा लेखनदासमार्फत नक्कली घरबाटो सिफारिस बनाएर नक्कली चलानी नम्बर हालेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्