विदेशी क्रिकेट प्रशिक्षक विराटनगरमा,महिला क्रिकेट खेलाडीलाई सहयोग गर्ने

विदेशी क्रिकेट प्रशिक्षक विराटनगरमा,महिला क्रिकेट खेलाडीलाई सहयोग गर्ने

विराटनगर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउण्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ ।

विथ आउट बाउण्डरी र नेपाल क्रिकेट फाउण्डेशनले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।

मंसिर १० गतेखि २३ गतेसम्म १४ दिने सामुदायिक विद्यालयका छात्रालाई तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागि कोशी प्रदेशको विराटनगर, इटहरी, धरान, धनकुटा तथा मधेश प्रदेशको राजविराज, लहान र कल्याणपुरका छात्राहरुलाई क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगरमा ६ वर्ष देखि काम गर्दै आएको नेपाल क्रिकेट फाउण्डेसनसँगको सहकार्यमा बाउण्डरीले खेलाडीहरूलाई खेल सामाग्री तथा प्रशिक्षण दिने जनाइएको छ । क्रिकेट विथ आउट बाउण्डरीले महिला खेलाडी उत्पादन गर्न दुई वर्षदेखि कोशी प्रदेश र मधेश प्रदेशका केही विद्यालयका विद्यार्थीलाई सहयोग गरिरहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए ।

विद्यालयहरूमा क्रिकेट खेल्ने वातावरण समेत बनिरहेको उनले बताए । फाउण्डेशनका अध्यक्ष श्रेष्ठले प्रशिक्षण एवं अन्तरक्रियाबाट नयाँ खेलाडी उत्पादन हुनुका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल वृद्धि हुने बताए । आइसिसिकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेट प्रति उत्साह तथा सिप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिइन् ।
उनले विगतदेखि यस क्षेत्रमा वाउण्डरीमार्फत छात्राहरुलाई खेल सामाग्री सहयोग गर्नुका साथै फरक ढङ्गबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडीहरु तयार भएको उदाहरण रहेको बताइन् ।

विराटनगरका ४ वटा विद्यालयमा फाउण्डेसनले छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ । सरस्वती, वालिका, महेन्द्र र सत्यनारायण विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण तथा प्रोत्साहन गरिरहेको छ । दुई संस्थाले इटहरी, धरान, धनकुटाका केही विद्यालयहरूमा पनि सहयोग गरिरहेका छन् । दुई हप्तासम्म क्रिकेट विथ आउट बाउण्डरीका पदाधिकारी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिने बताइएको छ । छात्राहरुलाई क्रिेकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसिबाट अलि मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्