विराटनगरका उद्योगी राजकुमार गोल्छा योगदानकर्तामा उत्कृष्ट, प्रधानमन्त्रीबाट प्रशंसापत्र

विराटनगरका उद्योगी राजकुमार गोल्छा योगदानकर्तामा उत्कृष्ट, प्रधानमन्त्रीबाट प्रशंसापत्र

विराटनगर । सुनसरीको अरिहन्त मल्टिफाइबर्स उत्पादनमुलक उद्योगको तर्फबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदातामध्ये देशभरमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष २०७९–०८० मा योगदानकर्ता (श्रमिक) हरूको संख्याका आधारमा अरिहन्त उत्कृष्ट भएको
हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक एवं विराटनगरका उद्योगी राजकुमार गोल्छालाई सरकारको नीति कार्यन्वयनमा सहजीकरण गरे वापत प्रशंसापत्र प्रदान गरेका छन् ।सामाजिक सुरक्षा कोषद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष केवलप्रसाद भण्डारी र कार्यकारी निर्देशक कविराज अधिकारीको पनि उपस्थिति थियो ।
उद्योगपति गोल्छाले नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने आफ्ना हजुरबा स्वर्गीय रामलाल गोल्छाको ड्रिम प्रोजेक्टका रूपमा रहेको जुट उद्योगलाई आफूले निरन्तरता दिएको बताए । उनले जुट उद्योगका कारणले नै आफूले प्रशंसापत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको प्रतिक्रिया व्यक्त गरे ।

सुनसरीको दुहबीमा विगत ३१ वर्षदेखि सञ्चालित अरिहन्त मल्टिफाइबर्समा ४२ सय श्रमिक कार्यरत छन् । यसमध्ये ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंले बताए । बजगाईंका अनुसार दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगका सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । उद्योगले बर्सेनि ५ सय करोडभन्दा बढी मूल्यका जुटका सामग्रीको निर्यात गरिरहेको छ । बोरा, सुतली र ह्यासियन कपडाको उत्पादन गरिरहेको उद्योगले गत वर्षदेखि जुटका सोपिङ ब्याग र लेनो कपडाको पनि उत्पादन गरिरहेको छ । लेनो कपडा जालीजस्तो हुने र सडक कालोपत्रे गर्न तथा पहाडमा भूक्षय नियन्त्रणका लागि वृक्षारोपण गर्न काम लाग्ने बजगाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्