कडा आठ रोगको उपचार : विराटनगरसहित कोशी प्रदेशका कुन अस्पतालमा कुन रोग उपचारमा पाइन्छ सहुलियत

कडा आठ रोगको उपचार : विराटनगरसहित कोशी प्रदेशका कुन अस्पतालमा कुन रोग उपचारमा पाइन्छ सहुलियत

विराटनगर । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतमा उपचार गराउने अस्पताल विराटनगरका धेरैवटा परेका छन् । सरकारले कडा रोगको उपचारलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विपन्न नागरिक औषधि निर्देशिका, २०८० स्वीकृत गरिएसँगै विराटनगरसहित कोशी प्रदेशका छ अस्पतालमा बिरामीले उपचार सेवा लिन सक्ने भएका हुन् ।

चालु आर्थिक बर्षको बजेटमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी कार्यविधि बनाउने उल्लेख थियो । स्वास्थ्यको सामाजिक सुरक्षाका कार्यक्रमलाई सुनिश्चित गर्न स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले मंसिर ६ गते निर्देशिका जारी गर्दै कडा रोगको उपचार खर्चको बिनियोजन विपन्न कार्यक्रम अन्तर्गत राखेको छ । निर्देशिकामा कडा रोगमा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियालाई समेटिएको छ ।

यी रोग भएका बिरामीको उपचारमा वडा कार्यलयको सिफारिसका आधारमा सरकारले सहुलियत रकम प्रदान गर्नेछ । यस्ता रोग भएका बिरामीले उपचार गराउँदा सरकारले तोकेका अस्पतालबाट सेवा लिनुपर्ने हुन्छ ।
सरकारले मिर्गौला प्रत्यारोपणका लागि सबैभन्दा बढी ४ लाख रुपैयाँ सहुलियत प्रदान गर्नेछ । यसैगरी, हप्ताको बढीमा दुई पटक हेमोडाइलाइसिस र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा प्रति सेसन २५००, अंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रतिसेसन हेमोडाइलाइसिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलाइसिसमा प्रति प्याकेज ५ सय १ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिकामा छ ।

एक्युट किड्नी इन्जुरी, एक्युट गुल्मेरुलो नेफ्राइटिस र नेफ्रोटिक सिन्ड्रोम भएका र मिर्गौला प्रत्यारोपण पश्चात औषधी सेवन गरिरहेका बिरामीले १ लाख रुपैयाँ सहुलियत पाउनेछन् । विपन्न नागरिक औषधी उपचार निर्देशिका, २०८० अनुसार विभिन्न प्रकारका मुटु रोग, विभिन्न प्रकारका क्यान्सर रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले १ लाख रुपैयाँसम्म सहुलियत पाउनेछन् ।

कुनै एक रोगको औषधि उपचार सहुलियत प्राप्त गरिसकेपछि पुनः सोही रोगका लागि औषधि उपचार सहुलियत सुविधा लिन पाउँदैनन् । तर, कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत भने पाउने छ ।
विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई विपन्न हो भनी सिफारिस लिनुपर्नेछ । सिफारिस, चिकित्सकको पे्रस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्नेछ ।
निवेदन तथा आवश्यक कागजात प्राप्त भए पश्चात सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी बिरामीको पारिवारिक आर्थिक अवस्थासमेत हेरी औषधि उपचार सहुलियत उपलब्ध गराउन अस्पताललाई सिफारिस गर्नेछ । गरिब घरपरिवार परिचय पत्र भएका बिरामीहरुका लागि विपन्नताको सिफारिस आवश्यक पर्ने छैन ।

यी रोगको हुन्छ उपचार
सरकारले क्यान्सर रोगका लागि ३०, मुटु रोगका लागि २५, हेड इन्जुरीका लागि ३२, स्पाइनल इन्जुरीका लागि ३३, पार्किन्सस र अल्जाइमर्सका लागि १३, सिकलसेल एनिमियाका लागि १३, मिर्गौला प्रत्यारोपणका लागि ५ र हेमोडायलासिसका लागि ८४ वटा सरकारी, निजी, सामुदायिक स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिने तोकेको छ ।
क्यान्सर रोगमा पाइने सहुलियतमा क्यान्सर सम्बन्धी शल्यक्रिया, कमोथेरापी, रेडियोथेरापी, औषधिजन्य साम्रगी, शैया तथा प्रयोगशाला शुल्क पर्छन् । मुटुरोगमा भने शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्न, एब्लेसन गर्न, मुटुको भल्व पूर्णरुपमा क्षति भएका र मुटु फेल भएका उपचारका लागि दिइने छ ।

यस्तै, मिर्गौला रोगमा हेमोडाइलासिस तथा औषधि उपचार शुल्क, प्रयोगशाला शुल्क साथै प्रत्यारोपण गर्न नमिल्ने बिरामीलाई औषधि उपचार शुल्क, मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवनका लागि सहुलियत पाउँछन् ।
यस्तै, पार्किन्सन्स र अल्जाइमरका उपचार सेवा, औषधि, औषधिजन्य सामग्री, शय्या तथा प्रयोगशाला सेवा शुल्कमा सहुलियत पाउँछन् । स्पाइनल इन्जुरी र हेड इन्जुरीमा भएका बिरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा, शय्या शुल्क तथा पुनस्र्थापना सेवाका लागि समेत सहुलियत पाइन्छ ।
यस्तैगरी, सिकलसेल एनिमिया रोग लागेका बिरामीले शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, प्रयोगशाला सेवा, शय्या शुल्कमा सहुलियत पाउँछन् ।

सरकारले पछिल्लो समय मिर्गौला रोगबाट पीडित भएकाहरुलाई हप्तामा दुई पटक निःशुल्क डायलासिस सुविधा दिँदै आएको छ । दुवै मिर्गौला फेल भएका बिरामीले तोकिएको कुनै पनि अस्पतालबाट आजीवन यो सुविधा उपभोग गर्न सक्नेछन् ।

विराटनगरसहित कोशी प्रदेशका यी अस्पतालमा हुन्छ उपचार
क्यान्सर उपचार हुने स्वास्थ्य संस्था
१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२. कोशी अस्पताल, विराटनगर
३. विराटनगर अस्पताल प्रालि, विराटनगर
४. पूर्वाञ्चल क्याक्सर अस्पताल, बिर्तामोड
मुटु रोगका लागि उपचार हुने स्वास्थ्य संस्था
१.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२.विराटनगर अस्पताल प्रालि, मोरङ
३.नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, मोरङ
४.न्यूरो कार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर

हेड इन्जुरीको उपचार हुने स्वास्थ्य संस्था
१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. विराटनगर अस्पताल प्रालि, विराटनगर
३. गोल्डेन अस्पताल प्रालि, मोरङ
४. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
५. न्यूरो कार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
६.बीएण्ड मेडिकल कलेज शिक्षण हस्पिटल, झापा

स्पाइनल इन्जुरी उपचार हुने अस्पताल
१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. विराटनगर अस्पताल प्रालि, विराटनगर
३. गोल्डेन अस्पताल प्रालि, मोरङ
४. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
५. न्यूरोकार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
६. बीएण्ड मेडिकल कलेज शिक्षण हस्पिटल, झापा

पार्किन्सन्स र अल्जाइमर्स रोगको उपचार हुने स्वास्थ्य संस्था
१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. विराटनगर अस्पताल प्रालि, विराटनगर
३. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ

मिर्गौला प्रत्यारोपण हुने अस्पताल
१.नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल

हेमोडायलाइसिस लागि उपचार हुने स्वास्थ्य संस्था
१. इलाम अस्पताल, इलाम
२. बीपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान, धरान
३. मेची अस्पताल, भद्रपुर, झापा
४. कोशी अस्पताल, विराटनगर, मोरङ
५. विराटनगर अस्पताल प्रालि, विराटनगर, मोरङ
६. गोल्डेन अस्पताल प्रालि, विराटनगर, मोरङ
७. नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लिमिटेड, मोरङ, विराटनगर
८. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, मोरङ
९. ओमसाई पाथीभारा हस्पिटल प्रालि, भद्रपुर, झापा
१०. पूर्णटुङ विर्ता सिटी अस्पताल, झापा
११.लाइफलाइन अस्पताल प्रालि, दमक, झापा
१२. मनमोहन मेमोरियल क्षेत्रीय अस्पताल बिर्तामोड, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्