विराटनगरको बहुप्राविधिक शिक्षालय : राम्रा शैक्षिक कार्यक्रम, तीनवटा विद्यालयका भवनमा पढाई

विराटनगरको बहुप्राविधिक शिक्षालय : राम्रा शैक्षिक कार्यक्रम, तीनवटा विद्यालयका भवनमा पढाई

विराटनगर । तीनवर्ष अगाडी विराटनगर महानगरपालिकाले सिटिईभिटीको साझेदारीमा सञ्चालनमा ल्याएको ‘महानगर बहुप्राविधिक शिक्षालय’ सिभिल इन्जिनियर, जियोम्याट्रिक्स, आर्किटेक्चर र इलेक्ट्रीकल शैक्षिक कार्यक्रमहरुको डिप्लोमा तहको पढाई हुँदै आएको छ । सीपयुक्त शैक्षिक कार्यक्रमको पढाई सुरु भएपछि विद्यार्थीको आकर्षण समेत उतिकै छ । शिक्षालयमा अहिले ५०० विद्यार्थी अध्ययनरत रहेपनि आफ्नै भवन नहुँदा पठनपाठनमा भने समस्या रहँदै आएको हो ।

क्याम्पसका प्राचार्य परिवेश पराजुलीले नयाँ भवन निर्माणाधिनमा रहेको भएपनि तत्काल व्यवस्थापनका लागि समस्या रहँदै आएको जानकारी दिएका छन् । उनका अनुसार अहिले शिक्षालयमा भर्ना भएका विद्यार्थीलाई तीनवटा विद्यालयका कक्षाकोठा प्रयोग गरेर पढाउने गरिएको छ । २०७७ सालमा स्थापना भएको शिक्षालयको नयाँ भवन विराटनगर–५ मा निर्माणाधिन चरणमा रहेको हो ।

आफ्नो भवन नहुँदा तत्कालका लागि भने जनता नमूना माध्यमिक विद्यालय, आदर्श बालिका र महेन्द्र माध्यमिक विद्यालयका कक्षा कोठा प्रयोग गरिदैं आएको छ । प्राचार्य पराजुलीले आफ्नै संरचना नहुँदा दैनिक शिक्षण सिकाईमा चुनौती रहेको गुनासो गरेका छन् । उनले विद्यार्थीलाई एकिकृत गर्न समेत समस्या पर्ने गरेको सुनाए ।

निर्माणाधिन चरणमा रहेको संरचना समेत सुस्त रहेकोले अझै केहि वर्ष समस्या झेल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता समेत व्यक्त गरिएको छ । विराटनगर महानगरपालिकाका इन्जिनियर राजु भट्टराईले महानगरपालिकाले शिक्षालयका लागि भवन निर्माणको प्रक्रिया अगाडी बढाईसकेको जानकारी दिएका छन् । उनका अनुसार भवन निर्माण सम्झौता २०७९ माघ २९ गते भएर २०८१ माघ मसान्तसम्म सम्पन्न गर्ने गरि भएको जानकारी दिएका छन् ।

तर, सम्झौता भएको दश महिनासम्म पनि ठेकेदारले निर्माणको काममा खास चासो दिएका छैनन् । चार तलाको भवन निर्माणका लागि आठ करोड ९५ लाख ७३ हजार लागत सम्झौता भएको छ । बस्नेत श्रेष्ठ जेभी निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेर निजी कामको कारण देखाउँदै आएको छ । इन्जिनियर भट्टराईले अहिलेसम्म भईरहेको ढिलासुस्तीको विषयमा चासो दिने काम भईरहेकोले अबको एकवर्षमा लगातार काम हुने विश्वास व्यक्त गरेका छन् ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्