तरकारी खेती सिंचाईका लागि विराटनगर क्षेत्रमा पानी छोड्दैन आयोजना

तरकारी खेती सिंचाईका लागि विराटनगर क्षेत्रमा पानी छोड्दैन आयोजना

इन्दु साह
विराटनगर । विराटनगर–५ का बालमुकुन्द यादव एक बिघाहा जमिनमा सिजन अनुसारको खेतीबाली र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनले धान र गहुँसँगै हिउँदे तरकारी लगाएर परिवार पाल्ने आम्दानी लिने गरेका हुन् । तर, उनका लागि हिउँदे तरकारी उत्पादन गर्न सिंचाईका लागि पानी छैन ।

सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखामा पर्ने नहरमा हिउँद लागेपछि पानी आउँदैन । विराटनगर–नेमुहासम्मको २७ किलोमिटर नहरमा गत छठ पर्वको अवसर पारेर सुनसरी मोरङ सिंचाई आयोजनाले पानी छोडेको थियो । छठ पर्व सकिएसँगै पानी पठाउन सकेको छैन । यस्तो हुँदा ४० वर्षीय बालमुकुन्द जस्ता किसानहरुका लागि अहिले समस्या झेल्नु पर्ने अवस्था रहेको हो ।

कृषिमा निर्भर जीविकोपार्जन गर्दै आएका यादवले मौसम अनुसारको खेतीबाली लगाउन पानी नहुँदा समस्यामा परेको गुनासो गरेका हुन् । यस्तै अर्का दिपेन्द्र यादवले समेत नहरमा पानी नहुँदा खेत बाँझो राखेर बस्नु परेको दुखेसो पोखेका छन् । उनले खेतसँगै जोडिएको नहरमा पानी नभएको बताउँदै आफूले तिर्नुपर्ने पोत (शुल्क) बुझाउँदै आएको दावी गरेका छन् ।

जल उपभोक्ता समितिका अध्यक्ष विरेन्द्र माझीले मर्मत सम्भारकालागि नहरमा पानी नछोडिएको बताएका छन् । उनले पुसको दोस्रो सातादेखि मात्रै पानी आउने जानकारी दिएका छन् । सिंचाई आयोजनाले नै धान र गुहँका लागि लक्षित गरेर पानी छोड्ने गरेकोे उनको भनाई छ ।
कृषकले तरकारी उत्पादनका लागि समेत पानी आवश्यक रहेको भन्छन्, अध्यक्ष माझीले भने–तर आयोजनाले नहरमा पानी धान र गहुँलाई मात्रै छोड्छ । शाखा अन्तर्गत उपशाखाले समेट्ने यो नहर ५० वर्ष अगाडि बनेको थियो । अहिल जलउपभोक्ता समितिले नहरको सफाई समेत गरेको छैन । उनले सफा गर्ने अवस्था समेत नरहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्