तराईमा हुस्सु लाग्न थालेपछि ‘रिफ्लेक्टर’ टास्दै ट्राफिक प्रहरी

तराईमा हुस्सु लाग्न थालेपछि ‘रिफ्लेक्टर’ टास्दै ट्राफिक प्रहरी

विराटनगर । तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको विशेष पहलमा जाडोको समयमा लाग्ने हुस्सुका कारण हुन सक्ने दुर्घटनामा कमि ल्याउनका लागि रिफ्लेक्टर स्टीकर टाँस गर्नुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनमा नम्बर लेख्ने अभियान सुरू गरेको हो ।

सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले अभियान अन्तर्गत बिभिन्न सवारी साधनका चालकहरुलाई भेला पारी दुर्घटना न्यूनिकरणमा चालकले खेल्न सक्ने भूमिका, चालकले अपनाउनुपर्ने सावधानिको बारेमा मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले प्रशिक्षण पनि दिने गरेका छन् ।

दुर्घटना न्यूनीकरणका लागि ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको उनले बताए । ट्राफिक प्रहरी पोष्ट निमुवाबाट रिफ्लेक्टर टास्ने अभियानको सुरूवात भएको छ । निमुवामा हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्ने अभियान तिव्र रुपमा अगाडि बढाएको ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले जानकारी दिए । ‘हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुन्छ,’ असइ आचार्यले भने, ‘टल्किएर परबाटै प्रष्टसँग देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्दा दुर्घटना न्यूनीकरणमा मद्धत पुग्छ ।’ दुर्घटना रोक्न मौसम अनुसार ट्राफिक प्रहरीले विभिन्न उपाय अवलम्बन गर्ने गरेको उनले बताए ।


मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक न्यौपानेले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई आवश्यक प्रशिक्षण दिन थालिएको बताए। ‘गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आग्रह गर्ने गरिएको छ,’ उनले भने, ‘बाटो काट्दा ‘साइड लाइट’को प्रयोगदेखि ट्राफिक नियमको पालनामा विशेष जोड दिएर प्रशिक्षण दिने गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्