मोरङको झोराहाटमा एक अर्ब लगानीमा खुल्यो पेलेट दाना उद्योग

मोरङको झोराहाटमा एक अर्ब लगानीमा खुल्यो पेलेट दाना उद्योग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा एक अर्ब लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै नेपाल वेलहोप एग्री–टेक प्रालिले पेलेट दाना उद्योग सञ्चालनमा ल्याएको हो ।

व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा स्थापना भएको उद्योगमा नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोग भएको छ । जसले गुणस्तरीय दाना उत्पादन गर्दछ । नेपालमा यो प्रविधिको पहिलो प्लान्ट भएकोे कम्पनीका प्रोडक्सन प्रमुख डम्बर आलेको दावी छ ।
पूर्ण रूपमा स्वचालित मेसिनद्वारा उत्पादन हुने दाना गुणस्तर रहने दावी छ । पहिले पेलेट दाना बनेपछि तेल मिक्स गर्ने गरिन्थ्यो । त्यसले दाना नरम हुने र धुलोको मात्रा बढी हुने समस्या रहँदै आएको थियो । यो उद्योेगमा जडान भएको मेसिनले ‘ओइल स्प्रे’ दाना सोझै उत्पादन गर्ने भएकोले कडा र पोषक तत्वयुक्त हुने भनाई छ ।

उत्पादित दानाको ‘प्लाटिस्टक लेमिनेटेड’ बोरामा ‘प्याकेजिङ’ गरिने भएको छ । जसले वायुमण्डलको ‘मोस्चराइजर’ तान्ने सम्भावना कम हुँदा गुणस्तर कायम रहने भनाई छ । कम्पनीका नेशनल सेल्स कोअर्डिनेटर डाक्टर जितेन्द्र लामाले मुलुककै सर्वाधिक धेरै दाना उत्पादन क्षमता भएको कम्पनी भएकाले किसानहरूलाई चाहिएको समय र स्थानमा सहज उपलब्ध गराउन सकिने दावी गरेका छन् ।

उद्योगबाट कुखुरा, सुँगुर–बङ्गुर, गाई–भैंसी र माछाका लागि मौसम र स्वादअनुकूलको ४२ प्रकारका पेलेट दाना उत्पादन गरेर बजार पठाइएको छ । प्रतिघण्टा २० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योग हाल १६ घण्टासम्म सञ्चालन हुँदै आएको छ । उद्योगले बाख्राका लागि पनि दाना उत्पादन गर्ने योजना राखेको छ ।

विजय पेलेट दानाको विराटनगर शाखाका बजार व्यवस्थापन प्रमुख कुमार पौडेलले भारतीय सुपरब्रिड मकैलगायत विदेशबाट आयात गरिएको उच्चस्तरीय कच्चा पदार्थबाट उत्कृष्ट प्रविधिमार्फत् दान उत्पादन हुने भएकोले शंका मान्नुपर्ने अवस्था नरहेको बताए । मोरङ बाहेक नेपाल वेलहोपले चितवनको भरतपुर र बाँकेको कोहलपुरमा समेत उद्योग रहेको छ । साढे तीन बिघा क्षेत्रफलमा फैलिएको झोराहाटस्थित उद्योगमा एकसय जनाले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्