सुजता लिम्बू
विराटनगर । शहरको अस्तव्यस्त सडकमा दिनहूँ हजारौँ मान्छेहरुको आवातजावत भईरहेकै हुन्छ । उनीहरुले पछ्याइरहेको गन्तव्य फरक हुँदो हो । तर, ति बाटोमा भेटिएका हरेक मानिसहरु गन्तव्य भेट्ने होडबाजीमा दौडिरहेका हुन्छन् ।
सपनाको होडबाजीबाट उम्किएर साँझ घर फर्किदै गरेका ७० वर्षिय रामदत्त सहनी स्वर्णिम सपनाका चाङहरुले उमेरसँगै विश्राम लिएको बताउछन् । अबको यात्रा बाध्यता भन्दा पनि बसिबियाँलो रहेको उनी सुनाउछन् ।
बर्खाको समय रापिलो विराटनगर हिँउदले छोपेसँगै चिसिएको छ । यही चिसो छल्न घुम्लुङ्ङ पछयौरा उडेका उनी ठेला तान्दै आफ्नै रफतारमा घरसम्म पुग्ने गन्तव्य पछ्याइरहेका थिए । साँझ विराटनगर- ११ जनपथ टोलको गल्लिमा भेटिएका उनी र उनकै चालमा गडिरहेको ठेला रिक्सासँगको सम्बन्ध दुई दशकदेखिको रहेछ । त्यसो त उनी यात्रा गर्ने गल्लि र विराटनगरका चोकहरुसँगको सामिप्यता उत्तिकै गहिरो रहेको उनी सुनाउछन् । ‘२० वर्ष बढी भयो ठेला रिक्सा कुदाएको, मलाई विराटनगरको प्रत्येक गल्लिले चिन्छ,’ उनी सुनाउछन् ।
उर्जाशिल उमेर मात्रै ठेलासँग बिताएका छैनन् उनले ठेलाबाट कमाएको पैसाले घरगृहस्थको गर्जो समेत टारेका छन् । उनी भन्छन्,‘यो त मेरो सारथी हो, यसैको कमाइले मेरो घरपरिवार धोनको छु ।’ अहिले छोराहरु हुर्किएर आफैँ कमाउने भएका छन् । छोराहरुले आर्थिक पाटो राम्रै धानेको भएपनि आफूलाई काम गर्ने बानी भएकाले स्वस्थ्य रहन पनि ठेला लिएर बजार निस्किने गरेको उनी सुनाउछन् । ‘छोराहरुले काम नगर भन्छन्, तर मलाई घरमा बस्यो भने बिरामी भएको जस्तो लाग्छ,’ उनी सुनाउछन्,‘ठेला लिएर निस्किदा चिया खाने पैसा पनि हुन्छ, आफूलाई स्वस्थ्य छु जस्तो पनि लाग्छ ।’ त्यसो त ठेलामा बस्ने सिट छैन तर पनि गन्तव्यमा पुग्ने दौडमा उनी दौडिरहेका हुन्छन ।
सिट लगाउने पैसा नभएर भन्दा पनि हिँड्दा नै आनन्द आउने भएकाले र केही समयपछि आफू पनि ठेला कुदाउन छोड्ने सोँच भएकाले बस्ने सिट नलगएको उनी बताउछन् ।