प्रदेश सरकार कक्षा १ मा भर्ना : मुख्यमन्त्री कार्की

प्रदेश सरकार कक्षा १ मा भर्ना : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार पहिलो कक्षामा भर्ना भएको बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको आर्थिक पाश्र्वचित्र सार्वजानिक गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले उद्योगी–व्यवसायीले भवन बनाउन, मेला लगाउन चन्दा माग्दै आउने गरेको गुनासो गर्दै भने–कम्तिमा सरकारलाई योजना बनाउन सहयोग गर्दा मात्रै विकास संभव हुन्छ । उनले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको पाश्र्वचित्र एक कक्षामा भर्ना भएको बालबालिकाले अध्ययन गर्ने पुस्तक जस्तै प्रदेश सरकारका लागि भएको बताएका थिए ।

निजी क्षेत्र सरकार बाहिर रहन नसक्ने बताउँदै उनले अभिन्न अंग भएको बताएका थिए । महासंघले तयार पारेको पाश्र्वचित्र अध्ययन गरेर आगामी दिनमा बजेट, नीति तथा कार्यक्रम तयार पारिने उनको भनाई थियो । मुख्यमन्त्री कार्कीले निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सृजना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषि लगायतका प्राथमिक क्षेत्रको मुल्य अभिबृद्धिमा योगदान गर्ने तथा राजस्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाउने कामगर्ने भएकोले यो अभिन्न अंग मानिने बताएका थिए ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले छिमेकी मित्रराष्ट्र भारतको विहार र तालिमनाडु को तुलना गर्दै संघीय सरकारको आज्ञा सिरोपर गरेर बस्ने प्रदेशहरुको विकासको गति ढिलो हुने बताए । उनले विहार विकासमा पछीपर्दा अहिले केन्द्र सरकार र अन्य प्रदेशका लागि समेत बोझ भइरहेको र तामिलनाडु जस्ता प्रान्तहरुले सरकार विरुद्ध आवश्यक कानुनी लडाई लडेर पनि आफ्नो सबै अधिकार प्रयोग गर्न सकेकोले विकासमा फड्को मारेको उदाहरण प्रस्तुत गरेका थिए । कोशी प्रदेशले समेत केन्द्रसँग आस राखेर भन्दा आफ्नै हैसियत देखाएर सक्षम बन्नुपर्नेमा उनको जोड थियो ।

उपाध्यक्ष आचार्यले औद्योगिक र व्यसायिक वातावरणका लागि ‘वन डोर पोलिसी’ आवश्यक पर्ने भएपनि अहिलेसम्मका सरकारहरुले यसतर्फ ध्यान नदिएको बताए । त्यसका लागि संघबाट अधिकार खोसेर प्रदेशले सहजीकरण र सरलिकरण गर्दै लैजानु पर्नेमा जोड थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्राथमिक र द्वितियक तथ्याङ्क संकलन र विश्लेषण गरेर पाश्र्वचित्र तयार गरिएको जानकारी दिएका थिए । उनले तथ्याङ्क संकलनको कार्य कहिले पनि पुर्ण नहुने भएकोले निरन्तर अद्यावधिक गर्दै लैजानु पर्ने बताएका थिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले निजी क्षेत्रले गरेको प्रयासमा हातेमालो गर्दै नेपाल उद्योग वाणिज्य महासंघले तयार गरेको पाश्र्वचित्रमा समेटिएका आर्थिक सामाजिक तथ्याङ्क सरकारको नीति निर्माणमा उपयोगी हुने बताउनु भयो । तथ्याङ्क संकलन र व्यवस्थापनको कार्यमा प्रदेश सकारले उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संघ संगठनसँग हातेमाले गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनु भयो ।

कार्यक्रममा राष्ट्रिय योजना अयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले कोशी प्रदेशमा लगानीका अनेक सम्भावना भएकोले यसलाई प्रदेशको विकास र समृद्धिसँग जोड्न सबै पक्षका विच बृहत्तर साझेदारी आवस्यक रहेको बताउनु भयो । कार्यक्रममा आर्थिक पाश्र्वचित्र लगायत द एशीया फाउण्डेशनको सहयोगमा विभिन्न संस्थाको प्राविधिक सहायता समुहले कोशी प्रदेशको आर्थिक बृद्धि सम्भाव्य क्षेत्र, बस्तु तथा सेवा पहिचान गरी त्यसको प्रतिवेदन प्रदेश सरकारमा हस्तान्तरण, लगानीको वातावरण निर्माणका नीतिगत वातावरण तयारीमा रहेका कमी तथा सवल पक्षको अध्ययन गरी सोमा आधारित बहुसरोकारवाला सम्बाद सञ्चालन, प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षा, उद्यमशीलता प्रवद्र्धनका लागि महिला उद्यमीहरुको सीप विकास, प्रदेशबाट निर्यात सम्भाव्यता भएका केही बस्तुको बारेमा अध्ययन लगायतका कार्य भएको जानकारी दिइएको थियो ।

कार्यक्रममा लगानी बोर्डका पुर्व प्रमूख कार्यकारी अधिकृत राधेश पन्त, साउथ एशीया वाच अन ट्रेड, इकोनोमिक्स इन्भाइरमेन्ट (साउती) का कार्यकारी निर्देशक डा. पारस खरेल कम्युनीटि इन्गेजमेन्ट्स् एण्ड आउटरिचका अनिरुद्र न्यौपाने लगायतले कोशी प्रदेशमा लगानी प्रवद्र्धन, उद्यमशिलता विकास, जलवायु वित्त, वैदेशीक व्यापार लगायतका विषयमा प्रस्तुती गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्