सुन्दरहरैँचा (मोरङ) । विराटनगरको सहिद रङ्गशालामा आजदेखि फागुन २८ गतेसम्म नवौँ संस्करणको विराट गोल्डकप हुने भएको छ ।
‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा भाग लिने १० वटा फुटबल टोली छनोट भइसकेका छन् । भारतबाट दुईवटा टोली तथा नेपालबाट विभागीय टोलीहरूसहित आठ टोलीको सहभागिता रहने विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले जानकारी दिनुभयो । आज हुने उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी तथा साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ ।
गोल्डकप सम्पन्न गर्न रु एक करोड ३५ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ । मोफसलको सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने संयोजक रिजालले उल्लेख गर्नुभयो । उहाँले उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार पुरस्कार प्राप्त जानकारी दिनुभयो ।
गोल्डकपका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लब, ‘ए डिभिजन लिग’ विजेता चर्च ब्वाइज युनाइेटड, न्युरोड टिम एनआरटी, पूर्वविजेता थ्रीस्टार क्लब, नेपाल पुलिस क्बल, सशस्त्र प्रहरी बलको टोली एपिएफ एफसी, दुईपटकको उपविजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली रिजालको मोरङ डिएफए रहेका छन् । त्यसैगरी, भारतको कोलकातास्थित सामार्थ समिति र दिल्लीस्थित सुदेभा दिल्ली एफसी छन् ।
पूर्वमा नेपाली फुटबलको सानका रूपमा रहेको विराट गोल्डकप प्रतियोगितामा सहभागी हुन दर्शकका लागि टिकट खरिद खुल्ला गरिएको विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिनुभयो । उहाँले महेन्द्र गोल्डकपको इतिहास २०१८ सालदेखि भएकाले यसलाई संरक्षण गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।
तत्कालीन राजा महेन्द्रका नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरु गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आएको हो । पञ्चायतकालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट नवौँ प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेको छ ।
दैनिक प्रतियोगिता हुनुभन्दा अगाडिदेखि राष्ट्रियस्तरका कलाकारबाट सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । यसअघि आठौँ संस्करणमा घरेलु टोली साङ्ग्रिला मोरङ एघारलाई पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको थियो ।