एक वर्ष अगाडीको जस्तो छैन अवस्था : प्रधानमन्त्री

एक वर्ष अगाडीको जस्तो छैन अवस्था : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र एकवर्ष अगाडीको जस्तो भयावहको स्थितिमा नरहेको बताउनु भएको छ । विराटनगरमा शुक्रबार ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटनपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको औपचारिक सूचक सकारात्मक बन्दै गएको बताउनु भएको हो ।

‘आर्थिक मन्दि र संकटउन्मुख छ भन्न मिल्दैन’ प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा भन्नुभयो–दवावमा रहेको अर्थतन्त्र ट्रयाकमा फर्कदैछ । उहाँले निजी क्षेत्रको सहयोगमा ७ दशमल ११ प्रतिशतमा रहेको महंगी चालु महिनामा आउँदासम्म ५.३८ प्रतिशतमा झरेको बताउनुभयो । भुक्तानी सन्तुलनका हिसाबले सहज अवस्था सिर्जना भईसकेको बताउँदै उहाँले बैंक ब्याजदर, लघु वित्त र सहकारी भित्रको अवस्थामा समेत सुधारका संकेत देखिएको प्रष्ट पार्नुभयो ।

चालु आर्थिक वर्षमा प्रतिमहिना एक खर्ब २० अर्ब रेमिट्यान्स भित्रिरहेको बताउँदै प्रधामन्त्री प्रचण्डले चालु आर्थिक वर्षको सञ्चिती १६ अर्ब ९६ अर्ब रहेको बताउनुभयो । ‘१४ महिना अगाडी कर्जाको ब्याजदर १८ प्रतिशत भन्दा माथि पुगिसकेको थियो, अहिले १२ प्रतिशत भन्दा तल रहेको छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–नीतिगत रुपमा समेत करेक्सन भएको छ ।

उहाँले नेपालमा चालु आर्थिक वर्षको नौ महिनामा नौलाख १७ हजार पर्यटक भित्रिसकेको बताउँदै अर्थतन्त्रमा सकारात्मक सुधार हुँदाहुँदै पनि केहि नकारात्मक भाष्य निर्माण भईरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । सरकारको नेतृत्व गरेको एकवर्षमा सुशासन र सामाजिक न्याय स्थापित गर्ने काम भएको बताउँदै उहाँले आलोचनालाई सकारात्मक बनाउन आग्रह गर्नुभयो । अर्थतन्त्र ट्रयाकमा फर्किरहेको छ, तरपनि नागरिक तथा व्यवसायिक क्रियाकलाप र भाष्य भने नकारात्मक भईरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अब यसलाई सकारात्मकतामा बदल्न बुद्धिजीवि र उद्योगी–व्यवसायी अगाडी आउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विराटनगरसँग राजनीतिक साइनो रहेको बताउँदै यहाँको विकासमा असहयोग गर्ने भन्ने कुनैपनि तर्क स्वीकार्न नसकिने धारणा राख्नुभयो । उद्घाटन भईसकेको कार्गोेरेल सञ्चालनमा नीतिगत समस्या तत्काल समाधान गरिने, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी बढाईने र रिङरोडका लागि आगामि आर्थिक वर्षमा बजेट सुनिश्चित गर्ने कार्यमा सरकार सकारात्मक हुने बताउनुभयो । यसैगरी प्रदेश राजधानी कोशीमा पर्यटक आगमनलाई चलायमान बनाउन नाकाबाट प्रवेशाज्ञा र सगरमागामा कोशीको अपनत्व कायम गराउने विषयमा चाँडै नै निर्णय हुने पनि उहाँको आश्वासन थियो ।

कार्यक्रमका विशिष्ट अथिति नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगर आफ्नै खुट्टामा उभिदै आएको भएपनि विकासमा सरकारको आँखा नपर्दा पछाडी परेको गुनासो गर्नु भएको थियो । उहाँले प्रधानमन्त्रीसँग विराटनगरको रिङ्गरोड, बथनहा–विराटनगर कार्गोरेल, विराटनगर विमानस्थल स्तरोन्नती र औद्योगिक प्रदर्शनीका लागि संघीय सरकारको सम्बोधन आवश्यक रहेको माग गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्