विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा तीन दिने किशोरी आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु भएको छ ।
तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरुमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सकिने बताउनुभयो । आत्मरक्षासम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला त्यसलाई प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ थियो ।
विराटनगरलाई तीन खण्डमा विभाजन गरेर तालिम दिइनेछ । उत्तरमा पोखरिया, मध्य क्षेत्रको आदर्श र दक्षिणी क्षेत्रको मिल्स माविलाई केन्द्र बनाएर तालिम दिइने महानगरकी शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिनुभयो । तालिममा सामुदायिक, संस्थागत र धार्मिक ६० विद्यालयमा अध्ययनरत किशोरीहरु सहभागी छन् । ६ देखि १२ कक्षासम्म अध्ययनरत का १५५ जना किशोरीहरुको तालिममा सहभागिता रहेको शर्माले जानकारी दिनुभयो ।
उनीहरुलाई मार्सल आर्टसका प्रशिक्षकसहित विषयविज्ञहरुले आत्मरक्षासम्बन्धी तालिम दिनेछन् । बालअधिकार, यौद्धजन्य हिंसा, हेपाई, तनाव, मार्सल आर्टसका विधिहरु सिकाइनेछ ।