इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा उत्पादन भएको फोहोरको डम्पिङ ब्रम्हपुरामा हुन्छ । विराटनगर–६ को ब्रम्हपुरावासीका गुनासा भने फोहोर झैं थुप्रिए पनि सुनिदिने कोहि छैन । स्थानीय ५५ वर्षीया लिला कामत पन्ध्र वर्षदेखि फोहोरको दुर्गन्धले रोगब्याध लागेको बताउँछिन् । घर नजिकै डम्पिङ साइट हुँदा त्यसको दुर्गन्ध र झिंकाले बसिनसक्नु भएको बताउँछिन् ।
यसैगरी ६० वर्षीया रम्भादेवी बिरामी भएर ओछ्यानमा भेटिइन् । उनले आफ्नो स्वास्थ्य खराब भईसकेपनि गुनासा सुनिदिने कोहि नभएको बताउँछिन् । सताईरहन्छ, रुघाखोकी लागिरहन्छ तर सरकारसँग हारिरहेका हामी अब रोगसँग लड्नु पर्ने अवस्थामा छौं ।
वडा अध्यक्ष हरिशचन्द्र सहनी पनि फोहोर व्यवस्थापनको विषयसँग हारिसकेको बताउँछन् । उनले डम्पिङ साइट अन्यन्त्र सार्नुपर्ने आफ्ना माग सम्बोधन नभएको गुनासो गर्दछन् । ‘२४ घण्टा धुँवा, फोहोरको गन्ध, झिंगा झेलिरहेका वडावासीमाथि मैले न्याय गर्न सकिरहेको छैन’ अध्यक्ष सहनीले भने–समस्याको समाधान खोज्न महानगरपालिका प्रमुखसँग आग्रह गरिरहेको छु, तर कुरा टरिरहेको छ ।
फोहोरका कारण फैलने दुर्गन्ध र झिंगा निराकरणका लागि औषधी समेत छर्कने नगरेको गुनासो स्थानीयको छ । जाडोमै यति धेरै समस्या भईसकेपछि गर्मी लागेपछि के होला भन्ने चिन्ता उनीहरुलाई छ । घरमा बस्दा मुख छोपेर बस्नुपर्ने अवस्था कहिलेसम्म सहनु पर्ने भन्ने चिन्ताले सताइरहेका नागरिकलाई जवाफ दिन नसक्ने अवस्थामा रहेको अध्यक्ष सहनीको भनाई छ ।
विराटनगर महानगरपालिकाको फोहोर संकलन गर्न तीन वटा निजी साझेदार कम्पनीसँग सम्झौता गरेको छ । शहर भित्रको फोहोर संकलनमा केहि सकारात्मक परिणाम देखिएपनि डम्पिङ साइट व्यवस्थापन नहुँदा त्यसले केहि नागरिकलाई असजिलो भने बनाईरहेको छ । महानगरको उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्र सगरमाथा मल्टिसप्लायर्सले फोहोर संकलन गर्दै आएको छ । विराटनगरभरको फोहोर यी कम्पनीले संकलन गरेर ब्रम्हपुरामा थुपार्ने गरेका छन् ।