विराटनगरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरण तथा बिज्ञापन गरिएको भन्दै युवाहरुद्वारा स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण

विराटनगरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरण तथा बिज्ञापन गरिएको भन्दै युवाहरुद्वारा स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाको ‘मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ विपरित जारी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’मा प्रचारप्रसार र बिक्री वितरण भएको भन्दै हामी सबैको युनाइटेड युथले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । विराटनगर–२ शंकरपुरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरणको लागि महानगरपालिकाबाट स्वीकृत बिना काम भएको र प्रचारप्रसार समेत गर्न नमिल्ने भएको भन्दै युनाइटेड युथले माग गरेको हो ।

विराटनगर–४ मा कार्यालय रहेको युथका अध्यक्ष अच्युत खतिवडाको समूहले स्थानीय राजपत्रमा प्रकाशित ‘विराटनगर महानगरपालिकाको मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ को परिच्छेद ४ को दफा ८(ढ) र (ण) को नियम उल्लंघन भईरहेको औल्याएको छ । स्वास्थ्यलाई प्रतिकुल असर पार्ने गरि गैरकानुनी कार्य गरेको भन्दैै उनीहरुले यसलाई रोक्न माग गरेका हुन् । दफा ८(ढ) मा ‘मदिरा व्यवसायी वा अन्य बिक्रेताले हाटबजार, सार्वजानिक स्थल, चोक तथा मेला, पर्वहरुमा मदिरा बिक्री वितरण गर्न पाइने छैन’ उल्लेख छ । यसैगरी (ण) मा ‘मानव स्वास्थ्यप्रति चेतना गराउने सुचना तथा होर्डिङ्ग बोर्ड बाहेक मदिराको प्रचार प्रसार, माइकिङ्ग, विज्ञापन तथा होर्डिङ्ग बोर्ड राख्न पाईने छैन’ उल्लेख छ ।

स्थानीय राजपत्रमा प्रकाशित कार्यविधी कार्यन्वयन नभएको भन्दै हामी सबैको युनाइटेड युथले मेलास्थलमा स्वास्थ्य चेतना बिनानै होर्डिङ बोर्ड राखिएको, बिक्री वितरण भईरहेको र प्रचारप्रसार समेत भईरहेको भन्दै त्यसप्रति ध्यानाकर्षण गराएका थिए । महानगरपालिका राजस्व महाशाखाका प्रमुख सरोज गौतमले नियमअनुसार नपाईने काम भईरहेको बताएका छन् । महानगरपालिका प्रमुख नागेश कोइरालाले एक्स्पो लाग्न थालेको छ दिनपछि गराइएको ध्यानाकर्षण कार्यन्वयनमा समस्या रहेको बताएका छन् । मेला आयोजना गर्ने स्वीकृति स्थानीय प्रशासनले दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङसँग छलफल गर्नका लागि आग्रह प्रमुख कोइरालाले गरेका थिए । अध्यक्ष खतिवडाले स्थानीय प्रशासनसँग समेत छलफल भएको र ध्यानाकर्षण गराएको बताए । स्थानीय प्रशासनले कानुन विपरित भएनभएको नियमन गर्ने जवाफ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्