विराटनगर । विराटनगर महानगरपालिका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भीम पराजुलीले हिमालय रोड भत्काउने तयारी गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । महानगरपालिकाको वर्तमान नेतृत्वले पूर्वाग्रहपूर्ण ढंगले काम गरिरहेको भन्दै उनले निर्माण सम्पन्न हुने चरणमा पुगेको हिमालय रोड भत्काउन नमिल्ने बताएका हुन् ।
पूर्व मेयर पराजुलीले निर्माण प्रक्रिया अगाडि बढेका योजनाहरुसमेत रोकेर नष्ट गर्ने कार्य गलत हुने भन्दै आक्रोश व्यक्त गरेका थिए । बिहीबार विराटनगरका सञ्चारकर्मीहरुसँग चिया गफ आयोजना गरेर नेता पराजुलीले आफ्ना धारणा राखेका थिए । उनले हिमालय रोडलाई सौन्दर्यकरण गर्ने योजना सम्पन्न गर्नुपर्नेमा भत्काउने तयारी गरेको भन्दै बारम्बार यहाँ बनिसकेका संरचना भत्काृउन नमिल्ने बताएका थिए ।
हिमालय रोड सौन्दर्यकरणको एजेण्डा पब्लिकको रहेको दावी गर्दै पूर्व मेयर एवं सांसद पराजुलीले पूर्वाग्रह राखेर हो भने आफ्नो पालामा बनेका सबै संरचना भत्काउन महानगरपालिाकाको वर्तमान नेतृत्वलाई चुनौती दिएका थिए । उनले वर्तमान महानगरपालिकाका मेयर नागेश कोइरालाले डिजाइन अनुसारको काम नगराएको र उल्टै भत्काउने तयारी गरिरहेको भन्दै कडा आक्रोश पोखेका थिए । हिमालय रोडमा महानगरले १ करोड ६३ हजार रुपैयाँ लगानी गरिसकेको उनको दावी छ । अहिले केहि व्यक्तिलाई प्रयोग गरेर नियोजित रुपमा आन्दोलन गर्न उकासिएको समेत आरोप छ ।