विद्यार्थी अभाव झेल्दै विराटनगरका स्नातक पढाउने निजी कलेज

विद्यार्थी अभाव झेल्दै विराटनगरका स्नातक पढाउने निजी कलेज

इन्दु साह
विराटनगर । पछिल्लो समय विराटनगरमा स्नातक तहको शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना कम हुन थालेका छन् । सरकारी क्याम्पस वा निजीस्तरका कलेजहरुले नयाँ–नयाँ शैक्षिक कार्यक्रम ल्याएपनि विद्यार्थीको भर्ना दर भने वर्षेनी घट्दो दरमा रहेको हो ।

कक्षा १२ अध्ययन सकाएर विदेशिने विद्यार्थीको संख्या उच्च हुँदा स्नातक तह अध्यापन गराउन खुलेका क्याम्पस विद्यार्थीविहीन हुने स्थितिउन्मुख बनेका छन् । सरकारीमा भर्ना हुने क्रम क्रमशः घट्दै गएपछि निजीस्तरका कलेजहरुले स्नातक तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन सुरु गरेका थिए । सुरुका वर्षहरुमा राम्रै विद्यार्थी उपस्थित गराउन सकेका निजी क्याम्पसमा समेत अहिले विद्यार्थी भर्ना दर घटेको सन्चालकहरु बताउँछन् ।

विराटनगरका काठमाण्डौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम अध्यापनका लागि खुलेको पहिलो निजीस्तरको एस्पायर कलेजका अध्यक्ष विकास अधिकारी नेपालमा भन्दा बाहिरी देशतर्फ विद्यार्थीको आकर्षण धेरै देखिएको बताउँछन् । उनले छिमेकी देश भारतका क्याम्पसहरुमा शुल्क कम हुने हुँदा विद्यार्थी भारतसहित अन्य देशमा गन्तव्य बनाउन थालेपछि स्नातकमा जति नै राम्रो कार्यक्रम ल्याएपनि विद्यार्थी अभाव भईरहेको अधिकारीको बुझाई छ ।

अध्यक्ष अधिकारी अनुसार एस्पायर कलेजमा होटल म्यानेजमेन्टमा ३० सिटको कोटामा २५ जना विद्यार्थी मात्रै भर्ना भएको बताउँछन् । अन्य केहि कलेजले होटल म्यानेजमेन्टमा भर्ना हुने विद्यार्थी नपाएर कार्यक्रम नै बन्द गरिरहेको उनले बताए । अन्य शैक्षिक कार्यक्रमतर्फ समेत अवस्था उस्तै रहेको उनको भनाई छ । उनका अनुसार आईटीमा भने पहिलेकै अवस्था कायम रहेको छ ।

हिसानका राष्ट्रिय उपाध्यक्ष भेषराज पोखरेल नेपालमा धमिलो राजनीति बढ्दै गएपछि अभिभावकले आफ्ना सन्तान यहिं भर्ना गरेर पढाउनु भन्दा विदेश पठाउने गरेको दावी गर्दछन् । पोखरेलले पढ्ने समयमा क्याम्पस भर्ना भएका विद्यार्थी अनेकथरी राजनीतिमा लाग्छन् भन्ने चिन्ताले ठूलो धनराशी खर्चेर भएपनि विदेश पठाउने गरेको बताउँछन् । अर्को कारण नेपालमा पढाईका लागि गरेको लगानी अनुसार प्रतिफल कम हुनु र पढ्दै कमाउँदै गर्ने अवसर नहुनुलाई समेत मान्नुपर्ने पोखरेलको तर्क छ ।

उनले अहिले खुलेकामध्ये ४० प्रतिशत क्याम्पस बन्द हुने अवस्थामा रहेको जानकारी दिए । बि.बि.एम, बि.बि.एस. लगायतका क्षेत्रमा विद्यार्थी अभाव भईसकेको उनको भनाई छ । प्राविधिक धारमा अध्यापन गराउने क्याम्पसमा कोटा अनुसार विद्यार्थी भर्ना भईरहेको उनले बताए । उनले महेन्द्र मोरङमा वि.वि.ए.तर्फ समेत यो वर्ष कोटा अनुसार विद्यार्थी कम भएको आफ्नो जानकारीमा रहेको बताए ।
ब्राइट भिजन कलेजका प्रशासन प्रमुख हरी पोखरेलले कानुनतर्फ विद्यार्थीको आकर्षण घटिनसकेको बताए । उनका अनुसार ब्राइट भिजनमा अहिले ६ सय विद्यार्थी अध्ययनरत रहेको र कोटा बढाइएको बताए । तर, १८० जनाको भर्ना आवेदनमा १४५ जना मात्रै भर्ना भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्