इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर २ स्थित हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीको लागि आवश्यक संरचना निर्माणको काम सुस्त देखिएको छ । विराटनगरको धार्मिक महत्व दर्शाउन र पर्यटकलाई आकर्षित गर्न हनुमान मन्दिरमा गतवर्षदेखि आरतीका लागि संरचना निर्माण सुरु गरिएको थियो ।
अविनय÷डिविशा जेभीले ३ करोड ९८ लाख ११ हजार १२८ मा निर्माण सम्झौता गरेर काम थालेपनि सुस्त देखिएको हो । झण्डै एकवर्षको अवधीमा ३० प्रतिशत मात्रै काम भएको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण भईरहेको आरतीस्थलका संरचना आगामी वर्ष सम्पन्न गर्नुपर्ने शर्त छ ।
मन्दिर क्षेत्रमा भवन निर्माणसँगै पशुपतिनाथमा झैं आरतीका लागि आवश्यक विभिन्न संरचना तयार पारिने छ । साइड इन्जिनियर सुजन श्रेष्ठका अनुसार आध्यात्मिक क्षेत्रमा विवाद मण्डव, आरती प्यावलेन, गेट, लाइटिङ, पोखरी, आरती कुण्डका संरचना तयार पार्ने सम्झौतामा उल्लेख छ । विराटनगरमा आध्यात्मिक स्थल जान मनलाग्ने भक्तजनलाई सहज बनाउन संरचना समेत त्यहि अनुसारको बनाउने योजना रहेको छ ।