विराटनगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने महानगरको लक्ष्य

विराटनगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने महानगरको लक्ष्य

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने लक्ष्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

महानगरले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियानअन्तर्गत शिःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया (अप्रेसन) गर्नेछ । शिविरमा सामान्य समस्या भएकालाई औषधि र चस्मा वितरण गरिनेछ । आज विराटनगर वडा नम्बर ९ बाट मोतियाबिन्दु मुक्त नगर बनाउने अभियान सुरु गरिएको छ ।

मेयर नागेश कोइरालाले आफ्नो आँखा जाँच गराएर शिविरको शुभारम्भ गर्नुभयो । उपचार अभावमा मोतियाबिन्दुको समस्या लिएर बस्न बाध्य महानगरवासीलाई निःशुल्क शल्यक्रिया गरेर मोतियाबिन्दुमुक्त बनाउने कार्य सुरु गरिएको मेयर कोइरालाले बताउनुभयो । उहाँले यसबाट बढीभन्दा बढी लाभ लिन महानगरवासीलाई आग्रह समेत गर्नुभयो ।

महानगरका १९ वटै वडामा शिविर सञ्चालन गरी आँखासम्बन्धी औषधि वितरण र मोतियाबिन्दु भएका बिरामीहरु पहिचान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । आँखा शिविर सञ्चालन गर्ने र मोतियाबिन्दुको पहिचान भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धमा महानगर र विराटनगर आँखा अस्पतालबीच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा महानगरका तर्फबाट मेयर कोइराला र अस्पतालका तर्फबाट मेसु डा. रक्षा पन्तले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य राजन श्रेष्ठ, प्रबन्धक कुमार पृथुलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्