मौलिक उत्पादनलाई ब्राण्ड बनाउने दौडमा विराटनगरकी ‘मिक्कल’

मौलिक उत्पादनलाई ब्राण्ड बनाउने दौडमा विराटनगरकी ‘मिक्कल’

सुजता लिम्बू
विराटनगर । केही वर्ष अगाडीसम्म उनी सरकारी जागिर खाने दौडमा थिइन् । कृषि प्राविधिक अध्ययन सकेकी उनी तालिमको सिलसिलामा प्रशिक्षक बनेर नेपालको सुदुर पूर्वदेखि सुदुरपश्चिमसम्म पुगेकी छिन् ।

यही विषयमा विज्ञता हाँसिल गरेर नेपाल सरकारको जागिरे बन्ने सपनाको दौडमा दौडिएकी उनको परिस्थितिसँगै गन्तव्य मोडियो । त्यसपछि उनले धागोमा सपना देख्न थालिन् । इलाममा जन्मेकी मिक्कल लिम्बू विराटनगरलाई कर्मघर बनाएर नयाँ पेसामा संलग्न छिन् । ढाकाको सारी आफैंमा ब्राण्ड भएकाले यसलाई विराटनगर बसेर व्यवसायमा विस्तार गर्ने योजना रहेको उनी सुनाउछिन् ।

साथीले तान बुनेको देखेर आफूलाई त्यहीँबाट सिक्ने इच्छा जागेकोको र पछी दमकमा ऋण खोजेर कोठा भाडा लिई बसेर केही समय तालिम लिएको उनले सुनाइन् ।‘खासमा त मलाई सरकारी जागिर खान थियो तर परिस्थितिसँगै बाटोहरु पनि मोडिने रहेछ,’ उनले सुनाइन्, अहिले तान लगाएको छु, घरैमा बसेर ढाकाको सारी बुन्छु ।’ घरको कामधन्दा सकेर तानमा बस्नु र सारी बुन्नु उनको दैनिकी जस्तै छ ।

तानमा लगातार समय दिदाँ एउटा सारी १५ दिनमा बुनिसक्ने रहेछ । घर परिवारलाई दिएर बचेको समय तानलाई दिने गरेको बताउने उनी एउटा सारी तयार गर्नु मेहेनत पनि उत्तिकै खर्च गर्नुपर्ने बताउछिन् ।

तानमा टाँगेको हरेक धागोको रेसा र बुट्टासँग खेल्न सक्दा मात्रै एउटा धागोले सुन्दर बुट्टा पाउन सक्ने रहेछ । त्यसको लागि आँखा र मष्तिस्कलाई एउटै लयमा लग्न सक्दा मात्रै त्यसले एउटा स्वरुप पाउन सक्ने उनी बताउछिन् । घरैमा तान लगाएर उनले बुनेको सारीको माग भने निक्कै रहेको बताउँछिन् । उनी सिक्दै व्यवसायि बन्ने दौडमा छिन् । उनका लागि अहिलेसम्मको परीक्षण अवधीले भोलि व्यवसायिक बन्ने ढोका खोलि दिएको छ ।

यो व्यवसायमा फाइदा भएपनि यसको गुणस्तर र मेहेनत नबुझ्नेले नाक खुम्च्याउने गरेको उनले गुनसो सुनाइन् । ‘यसमा मेहेनत धेरै पर्छ, बस्दा ढाड दुख्छ तान लगाएपछि धागोको रेसा रेसामा आफ्नो दिमाग पनि दौडाउनुपर्ने हुन्छ,’ उनी सुनाउछिन्,‘मेहेनत बुझ्नेले चुपचाप खरिद गर्नुहुन्छ, नबुझ्नेले नाक खुम्च्याउदै महँगो भयो भन्नुहुन्छ ।’ बुटिकमा होस् या कुनै महलमा राखिएको सामान्य सारीलाई महँगो दामले खरिद गर्ने ग्राहकहरुले हातले मौलिक तरिकाले बनाएको सारीको मुल्य सुन्दा नै तर्सिने गरेको उनी सुनाउछिन् ।
सारीको मूल्य तीन हजारदेखि २५ हजारसम्म
बजारमा ३ हजारदेखि २५ हजारसम्म ढाकाको सारी पाइने गरेको उनले बताइन् । सुतीको धागोबाट बनेको सारी तीन हजारदेखि ४५ सयसम्ममा पाउने र सिल्कको धागोबाट बुनेको सारी १० हजारदेखि २५ हजारसम्म पर्ने गरेको उनको भनाई छ । ‘सुतीको धागोबाट बुनेको सारी ३ हजारदेखि ४५ सयसम्म पर्छ, तर सिल्कको धागोबाट बनेको महँगो पर्छ सिल्कको धागोमा मेहेनत धेरै पर्छ ।’ त्यसो त बजारमा २५ हजारसम्मको सारी पाइन्छ । त्यसको पनि धागोको क्वालिटी र मेहेनत अनुसार सारीको दाम पर्छ ।’


व्यवसायलाई विस्तार गर्ने सोचमा
हरेक व्यवसायको सुरुवात संघर्षपूर्ण नै हुन्छ । अहिले संघर्षको यात्रामा रहेकी मिक्कल आन्तरिक बजारमा आफ्नो सीपलाई पुर्याउने कसरतमा छिन् । त्यसका लागि आर्थिक व्यवस्थापनको पाटो रहने हुँदा अहिले घरबाट नै सञ्चालन गर्दै आएको व्यवसायलाई विस्तारै विस्तार गर्ने सोँचमा रहेको उनी सुनाउछिन् ।
‘अहिले घरैमा तान लगाएर सारी बुन्दै विक्री गर्दैछु, यसलाई विस्तारै विस्तार गर्ने सोँचमा छु,’ उनी सुनाउछिन्,‘ एउटा सटरमा बसेर व्यवसाय सञ्चालन गर्नु लाखौ खर्चिनुपर्ने हुन्छ त्यसैले पहिले त आर्थिक व्यवस्थापन नै चुनौतीको विषय हो ।’ व्यवसायलाई समयसँगै अगाडी बढाउन परिवारबाट पनि दर्बिलो साथ चाहिने बताउने उनी यसले महिलालाई आन्तनिर्भर बनाउन समेत बलियो टेवा पुग्ने गरेको बताइन् ।
लिम्बू मुन्धुमसँग जोडिएको ‘ढाका’
लिम्बू जातिको मुन्धुममै कपडाको महत्व रहेको छ । सबै प्राणी र पंक्षीको रौँ र प्वाँख हुने तर मान्छेको किन भएन भनेर सबैको प्वाँख (रौँ) पैँचो मागेर तागेरानिङ्वाभुमाङको(लिम्बू समुदायको भगवान)मा पुगेको र माङ(भगवान) ले तिमीहरु चै आफै बनाएर लुगा लगाउन भनेको रहेछ । लिम्बु मुन्धुमको मिथक अनुसार सबै प्वाँख फिर्ता लगेपछि लज्जा छेक्ने ठाँउ छेकेर मान्छेले लुगा बनाएर लगाएको रहेछ । मुन्धुम अनुसार थाकथाक्मा भनेको कपडा बुन्नु हो त्यही पछि ढाका बनेको रहेछ । जंगबहादुरको बहिनीले ढाकाबाट ल्याएर पाल्पामा खाँडी बुनेता पनि लिम्बूहरुले पहिले देखि नै थाकथाक्मा अर्थात कपडा बुन्ने गरेको र त्यो नै पछि ढाकासँगै गाभिएको जानकारहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्