विराटनगरमा नगर बस : उल्झन नआए नयाँ वर्षमा उद्घाटन

विराटनगरमा नगर बस : उल्झन नआए नयाँ वर्षमा उद्घाटन

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालन गर्ने भन्दै परीक्षण गरिएको पाँचवटा रुटमा चालु आर्थिक वर्षभित्रै नगर बस सञ्चालनका लागि ढोका खुलेको छ । कोशी प्रदेश लगानी प्राधिकरणमा विराटनगर यातायात प्रा.लि.ले मात्रै विस्तृत अध्ययन प्रतिवेदनसहितको प्रस्ताव पेस गरेसँगै त्यसको प्रक्रियागत कार्य प्रारम्भ भएको हो ।

लगानी प्राधिकरणका प्रमुख डा.सरोज कोइरालाका अनुसार विराटनगर यातायात प्रा.लि.ले विराटनगर महानगरपालिका क्षेत्रमा नगरबस सञ्चालन गर्नका निम्ति प्रस्तुत गरेको विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन उपर अर्को कुनै दावी प्रस्ताव परेको छैन । कम्पनीले नगरबस सञ्चालनका लागि पेस गरेको प्रस्तावमा दावी माग गर्दै प्राधिकरणले २०८० भदौ १० गते ३५ दिने सार्वजानिक सूचना प्रकाशन गरेको थियो ।
गत वर्ष फागुन-चैतमा नगर बस सञ्चालन गर्ने भन्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले रुट परीक्षण गरेका थिए । तर, यससँग सम्बन्धित योजना भने अहिले पनि प्रक्रियामा रहेको हो ।

लगानी प्राधिकरणमा पेस भएको यो प्रस्ताव प्रदेश सरकारको मूल्यांकन समितिमा छलफलका लागि पठाइएको छ । यो समितिले लगानीकर्ताको प्रस्ताव मूल्यांकन गरि त्यसमा केहि परिमार्जन वा संशोधन गर्नुपर्ने भए रायसहितको प्रतिवेदन लगानी बोर्डलाई दिइने छ । मूल्यांकन समितिमा मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानुन, यातायातसँग सरोकार राख्ने मन्त्रालय, लगानी प्राधिकरणसहितका प्रतिनिधि सम्मिलित हुन्छन् । यो समितिको मूल्यांकन रायपछि मुख्यमन्त्री नेतृत्वको लगानी बोर्डले परियोजना कार्यान्वयन गर्ने स्थानीय तह विराटनगर महानगरपालिका र लगानीकर्ताबीच सम्झौताका लागि स्वीकृति प्रदान गर्नेछ । त्यसपछि लगानी प्राधिकरणले महानगरपालिका र प्रस्तावक लगानीकर्ताबीच सम्झौता गराउने छ ।

प्राधिकरणका प्रमुख कोइरालाले यदि सबै काम भटाभट भएमा एक महिना भित्र विराटनगर महानगरपालिका र प्रस्तावक लगानीकर्ताबीच नगरबस सञ्चालन सम्झौता भईसक्ने जानकारी दिएका छन् । दुई पक्षबीचको सम्झौतापछि नगर बस सञ्चालनको मोडालिटी तयार पारिनेछ । जसमा परीक्षण गरिएको पाँच रुटमा बस रोक्ने स्थान (बसस्टप) तोकिएको गन्तव्यमा बस स्टेण्ड, भाडा दर कायम र सुविधा जस्ता विषय पर्नेछन् । यी विषय लगानीकर्तासँग महानगरपालिकाले टुङ्ग्याएपछि तोकिएको रुटमा बस सञ्चालन हुने बाटो खुल्नेछ । यी सबै काम सम्पन्न हुदाँ नयाँ वर्षदेखि नगर बस गुड्न सक्ने संभावना देखिएको छ ।

लगानीकर्ता विराटनगर यातायात प्रा.लि.ले हरेक एक किलोमिटरमा बस स्टप आवश्यक पर्ने परियोजना प्रतिवेदन बुझाएको छ । त्यसपछि टंकी–जोगबनी, हाटखोला–इक्राही, मिलनचौक–बुधनगर, दरैया–मिलनचौकमा बस स्टेण्डको आवश्यक पर्नेछ । कम्पनीले प्रस्ताव गरेको परियोजनामा ५० बस खरिद गर्ने गरि ३५ करोड ५२ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । यद्यपी पहिलो चरणमा भने ५ देखि ७ वटा बस परीक्षणको रुपमा सञ्चालनमा ल्याउने छ । त्यसपछि क्रमशः सबै रुटका लागि आवश्यक बस थप्दै जानेछ । प्रदेश राजधानी विराटनगर केन्द्रीत मात्रै भएर भईरहेको यो पाइलट प्रोजेक्टलाई बृहत विराट क्षेत्रभित्र लैजाने लक्ष्य राखिएको छ ।

महानगरपालिकाका प्रमुख नागेश कोइरलाले नगर बसका लागि रुट परीक्षण गरेर सम्बन्धित कम्पनीले त्यसको विस्तृत अध्ययन प्रतिवेदन समेत बुझाई सकेकोले बाँकी काम तदारुकताका साथ अगाडी बढाउने दावी गरेका छन् । उनले नगर बस सञ्चालनका लागि केहि चुनौतीहरु समेत रहेकोले त्यसको व्यवस्थापनका काम समेत सुरु गरिने बताएका छन् । जस्तै बस सञ्चालनका लागि आवश्यक पर्ने सडकमा भएको पार्किङ व्यवस्थापन, सडकका खाल्डाखुल्डी पुर्ने काम, यात्रु चढ्ने स्थानको निर्धारण रहेका छन् ।

त्यसैगरी यात्रु चढ्ने र झर्ने बस स्पटमा यात्रु प्रतिक्षालय र फलैंचा समेत जरुरी पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्