विराटनगर। प्रदेश १ सरकरले प्रदेश खेलकुद विकास बोर्ड विघटन गरी नयाँ बोर्ड गठन गर्यो । तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा रहेको सरकारले खेलकुद विकास बोर्डको सदस्य सचिवमा हंसराज वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त भएका थिए ।
त्यसअघि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले नियुक्त गरेका बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सहितको टोलीलाई पदबाट हटाएर वाग्ले र कार्कीलाई नियुक्त गरिएको थियो । राजनीतिक भागबण्डाका आधारमा एकीकृत समाजवादीका ओखलढुंगा अध्यक्ष वाग्लेलाई सदस्य सचिव र नेपाली काँग्रेसको कोटामा विराटनगरकी जीना कार्की उपाध्यक्षमा नियुक्त भएकी थिइन् ।
उपाध्यक्ष कार्कीको नियुक्तिमा खेलकुद क्षेत्र बाहिरको व्यक्ति भन्दै काँग्रेसको निकट संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले केहि असन्तुष्टि व्यक्त गरेको थियो । वास्ले समेत राजनीतिक दलका नेताको हैीसयतमा नियुक्त भएपछि राजनीतिक उत्तरचढावको छिटाले खेलकुद जस्तो क्षेत्रलाई गाँजेको देखिन्थ्यो । राजनीतिक उल्झन र भागबण्डाले बाँडिएको वार्डमा १५ सदस्यीय रहेकोमा १३ जना मात्रै सदस्य छन् । प्रत्येक जिल्लामा बोर्ड मातहत १३ सदस्यीय खेलकुद विकास समिति छ । तर, बोर्डको प्रदेश कार्यालय कर्मचारीको दरबन्दी छैन ।
राष्ट्रिय खेलकुद विकास समिति अन्तर्गत रहेका ७६ जना कर्मचारी भने समायोजन नहुँदा काम बिहीन बनेर बसिरहेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोर्डका सदस्य सचिव हंसराज वाग्लेले भनेका थिए ‘अब बोर्ड नै खारेज गरौं, यसको काम छैन ।’
आफ्नो मातहतमा कर्मचारी नभएको, सरकारले पर्याप्त बजेट नछुट्याएको, खेलकुद क्षेत्रको विकासमा कुनै काम गर्न नसकेको समेत उनको गुनसो थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत संसद विकास परियोजनाको सहयोगमा संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वाग्लेले बोर्डका चुनौतीका विषयमा आफ्नो धारणा राख्ने क्रममा प्रदेश खेलकुद विकास बोर्डमा अहिलेसम्म १ जना पनि दरबन्दीको कर्मचारी नभएको बताएका थिए ।
त्यहाँ सामाजिक विकास मन्त्रालयबाट एक जना अधिकृत कामकाज गर्नका लागि भनेर पठाइएको छ । त्यसो त लेखापाल पनि चेकमा साइन गर्न कहिले काँही आउने गरेको उनको भनाई थियो । ज्यालादारीको रुपमा कम्प्युटर अपरेटर, सवारी चालक र कार्यालय सहयोगी राखिएको समेत उनले बताएका थिए । ‘राखेपका कर्मचारीहरु कहाँ हुनुहुन्छ हामीलाई थाहा छैन । ७६ जना कर्मचारी प्रदेशमा छन् । तर, प्रदेश खेलकुद बोर्ड उहाँहरुलाई नियन्त्रण गर्न सक्दैन । उनले भनेका थिए,‘ खेलक्षेत्रका कर्मचारी प्रदेशमा समायोजन हुनै सकेनन् ।’
त्यसो त प्रदेशमा अहिलेसम्म एक जना पनि प्रशिक्षकको दरबन्दी छैन । नवौं राष्ट्रिय खेलकुदमा पनि सहभागीता राम्रो भयो । तर, अहिले बजेटको अवस्था शून्य अवस्थामा रहेको समेत उनको गुनासो थियो । भर्खरै आएको बजेट समेत काल्पनिक तरिकाले आएको समेत उनको भनाई थियो ।
शौचालय बनाउनदेखि भान्सा बनाउनसम्म करोडौं बजेट छुट्टीरहँदा , खेलकुदलाई बेवास्ता गरिएको समेत उनको भनाई थियो ।
उनले भनेका थिए, ‘खेलकुद बोर्डलाई अहिले नै प्रदेशस्तरीय प्रतियोगिता गर्नुपर्ने छ । त्यसमा मात्रै ६ करोडभन्दा माथि खर्च हुने वाग्लेको अनुमान छ । अर्को वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसमा ९ करोड भन्दा बढी खर्च हुन्छ । त्यसको तयारीका लागि अहिलेदेखि नै खेलाडी उत्पादनमा लाग्नुपर्ने देखिन्छ । जसका लागि प्रशिक्षकहरु नियुक्ति गर्नुपर्ने अवस्था छ । तर बजेट छैन ।’
‘कोशी प्रदेशमा अहिले जम्माजम्मी ललित राजवंशी क्रिकेट खेलाडीको रुपमा छन् । उनी पनि पासपोर्ट बनाउँन सिफारिस मागि रहेका छन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएका ५० प्रतिशत खेलाडी विदेश गइसकेका छन् । खेलाडीलाई कसरी टिकाउने भन्ने कुनै पनि योजना छैन,’ उनले भनेका थिए । राजनीतिक दलका नेता तथा सांसदहरुले भोट माग्दा देशलाई चिनाउने भनेर खेलाडीलाई भन्ने गरेको अवस्था हो तर देश होइन वडा पनि चिनाउन सक्ने गरी बजेट नभएको उनको भनाई थियो ।
कोशी प्रदेशको भर्खरै पारित भएको बजेटमा खेलकुदको क्षेत्रमा ५ करोड ६१ लाख बजेट छुट्याइए छ । अघिल्लो आर्थिक वर्षमा भने खेल क्षेत्रमा ९ करोडभन्दा बढी बजेट थियो ।