इशु पन्त
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित संसारी माइस्थान मन्दिरमा पौष–माघको जाडोमा पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। यस मन्दिरमा स्वच्छ मनले देवीसँग पुकार गर्दा आफ्ना समस्याहरू हल हुने आस्था रहने गरेपछि दैनिक भक्तजनको उपस्थिति बढ्न थालेको हो ।
विशेष गरी संसारी मन्दिरमा बलीप्रथाको चलन चल्दै आएको छ। बोका, परेवा, नरिबल, श्रृङ्गारको समान, फूलपाती र लड्डु , सुनचाँदी एबम् आफूले भाकल गरे अनुसारको सामाग्री चढाउने गरिन्छ । बली चढाउने विशेष दिन शनिबार र मङ्गलबार रहेको छ। शनिबार बोकाको वली १२० देखि २०० वटासम्म सम्म हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजीव श्रेष्ठले जानकारी दिएका छन् । अन्य दिनसमेत बली चढाउन आउनेहरुको संख्या बढ्दै गएको छ ।
संसारी माइस्थान मन्दिरमा भक्तजनहरू टाढा टाढा वाट आउने गरेका छन् । काठमाडौं , पोखरा, झापा, इलाम, भोजपुर, धनकुटा, पाँचथर र छिमेकी देश भारतको बिहार, कालकाता, दिल्लीबाट समेत आऊने गरेका हुन् । टाढा–टाढा बाट आएका भक्तजनहरुले तिथी नमिलाई बली चढाउने भाकल पुरा गर्न आउँदा कहिले काँहि बास बस्नुपर्ने स्थिति हुन्छ । साउन, सोह्रश्राद्ध, अधिकमास (मलमास) एकादशी, औंसीमा बली चढाउन मिल्दैन ।
मन्दिर व्यवस्थापन समितिले यसरी आएका भक्तजनलाई त्यसै फर्कन नदिने उद्देश्यले धर्मशाला लगायतका संरचना तयार पारिरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार भक्तजनलाई असजिलो नहोस् भनेर खाना पकाउने स्थान र उनीहरुको सहजताका लागि थप सुविधासहितका संरचना बनाउने काम भइरहेको छ । कोशी प्रदेश सरकारले १८ करोड रुपिँया बिनियोजन गरेर संसारी माइस्थानको विकास गर्दै आएको छ । ठेकेदार कम्पनीले न्यून कबोल गरेर १२ करोडमा सम्भौता गरेर काम गरिरहेको हो ।
पहिला भन्दा अहिले केही व्यवस्थामा सुधार समेत आएको छ। बली चढाएर प्रसाद पकाएर खाने ठाउँ नभएर चौरीमा त्रिपाल ओछ्याएर खानु पर्दा घाम र पानीले असर गर्थ्यो भने अहिले सुधार गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार बली चढाउनेले मात्रै नभई बैष्णवहरुले समेत मन्दिरको दर्शन गर्ने गरेका छन् । उनीहरुले भाकल अनुसार नरिबल फुटाउने चलन सुरु गरेका छन् । बैष्णवहरुको संख्या बृद्धि हुँदै गएपछि अहिले साकाहारी भोजनालय समेत मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको छ । मन्दिरमा दैनिक नित्यकर्म गर्ने र बली चढाउन सहयोग गर्ने गरि तीनजना पण्डित रहेका छन् । यसैगरी शनिबार र मंगलबार थप एकजना पण्डित समेत झिकाउने गरिएको छ । सरसफाईका लागि चारजना र एकजना सुपरभाइजर कर्मचारीले दैनिक काम गर्दै आएका छन् ।
तीन बिघा १७ कठ्ठा क्षेत्रफल रहेको मन्दिरको प्राङगण विस्तारका लागि भेटी संकलनबाट उठेको रकमले थप दुई बिघा क्षेत्रफल जग्गा समेत खरिद गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । अहिले खर्च कटाउने मासिक दुईलाख हाराहारीको रकम बचत हुँदै आएको छ । त्यो मन्दिरको नाममा रहेको बैंक खातामा जम्मा हुने गरेको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार रंगेलीमा धार्मिक पर्यटनको संभावना बढ्दै जाँदा रोजगारीका अवसर सिर्जना भएका छन् । मन्दिर बाहिर पुजाका सामाग्री बिक्री गर्ने, मन्दिरसम्म आउजाउका लागि यात्रुवहाक बस तथा सिटी र टेम्पोले यात्रु पाएका छन् भने होटल व्यवसायीलाई समेत यसले राहत पु¥याएको छ ।