विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था तीन दिन विदा दिने निर्णय गरेको छ ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र ५ गते विदा दिने निर्णय गरेको हो ।
केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ ।
‘केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र संचालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०/१०/०३ गतेदेखि २०८०/१०/०५ गतेसम्म बन्द गर्न निर्णय अनुसार जानकारी गराइन्छ’, विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।
यसअघि निणर्य भएको माघ ३, ४ र ५ गते महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन हुने विराटनगर महानगरपालिकाले जनाएको छ।