मुटुको धड्कन बढ्ने बिरामीका लागि विराटनगरमा ‘इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन’ सेवा

मुटुको धड्कन बढ्ने बिरामीका लागि विराटनगरमा ‘इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन’ सेवा

विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले मुटुको धडकन् बढ्ने विरामी लक्षित गरेर दीर्धकालिन उपचार सेवा इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सुरु गरेको छ । लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गएपनि समयान्तरमा काम गर्न छोडेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन गर्नुपर्ने अवस्था आउने भएपनि नोबेलले यो सेवा भित्र्याएको हो ।

मुटुरोग विभागका प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालका अनुसार मुटुलाई चलाउने प्रणालीले दिने विद्युतिय तरङ्गको प्रवाह माथिल्लो खण्डबाट एस ए नोड बाट सुरु हुन्छ । त्यहाँबाट विद्युतिय प्रवाह अर्थात मुटुको चाल सुरु भई मुटुको तल्लो खण्ड भन्दा केही माथि रहेको ए भी नोडमा जान्छ । एस ए नोडबाट निस्किएको विद्युतिय तरङ्गको प्रवाहले मुटुको माथिल्लो खण्डलाई खुम्चाउने कार्य गर्दछ भने ए भी नोडबाट बण्डल अफ हिज हुँदै बण्डल ब्रान्चहरुमा विद्युतिय तरङ्ग प्रवाह हुँदा मुटुको तल्लो खण्ड खुम्चिने गर्दछ । एस ए नोड प्राकृतिक पेसमेकर हो र एस ए नोड, ए भी नोड र बण्डल ब्रान्चहरुले गर्दा मुटुलाई चलायमान गर्दछ । तर कसै कसैको ए भी नोड भित्र वा बाहिर विद्युत प्रवाहमा चोर बाटो हुने गर्दछ । यस्तो चोर बाटोले गर्दा विद्युतिय तरङ्गको प्रवाह राम्रो संग हुन नसक्दा मुटुको चाल बढी भई धेरै ढुकढुक हुने गर्दछ ।

मुटुको माथिल्लो खण्डको चाल गडबड हुने समस्यालाई पीएसभीटी भनिन्छ । पीएसभीटीमा मानिसलाई चक्कर लाग्ने र धडकन बढ्ने समस्या हुन्छ । यो बारम्बार दुख दिने गरि हुन्छ भने भीटीमा मुटुको तल्लो खण्ड बढी धकधकाउँछ । यस्तो बेला मुटुले शरिरमा पु¥याउनु पर्ने रगतको प्रवाहमा कमी हुन जान्छ । यो अवस्थामा मानिस बेहोस हुने र ज्यान नै जान सक्ने हुन्छ । विद्युतिय तरङ्गको प्रवाहमा चोर बाटो हुने विश्वमा करिब १० प्रतिशत मानिसहरुमा जन्मजात आउने अध्ययनमा देखिएको छ । तर, ती मध्ये कसै कसैलाई धडकनको समस्या आउने गर्दछ ।
इलेक्ट्रोफिजियोलोजी स्टडी अर्थात ईपी ल्यावले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गर्न सहज गर्दछ । विरामीको अवस्थाको जानकारी लिन्छ । नोवेलमा टुडी म्यापिङ्ग उपलव्ध छ जसको आधारमा मुटुको विद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न सकिन्छ । रोग पत्ता लागे पछि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट मुटुको चालको विद्युतिय प्रवाहको चोर बाटो डाम्ने गरिन्छ । प्रा. डा. नेपालका अनुसार यो सेवा काठमाडौंमा गंगालाल हृदय रोग केन्द्र र ह्याम्समा उपलव्ध छ । काठमाडौं बाहिर नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मात्र रहेको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सहदेव ढुंगानाका अनुसार मुटु चलाउने विद्युतिय तरङ्गको प्रवाहमा हुने चोरबाटोले गर्दा आउने समस्याको लागि औषधी पनि खान सकिन्छ । यसरी औषधी खानेले आजिवन औषधी सेवन गर्नु पर्छ र औषधीको प्रभाव हुन छोडेमा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्नु पर्दछ । यो प्रविधिको सक्सेस रेट ९८ प्रतिसत रहेको उनको भनाई छ । यो भर पर्दाे भएको र औषधी खाई राख्नु पर्ने, औषधी छुटाउन नहुने बाध्यता पनि हट्ने भएकोले विरामीलाई धेरै सजिलो हुन्छ ।

बरिष्ठ इलेक्ट्रोफिजियोलोजिष्ट डा. रोशन राउतका अनुसार अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले मुटु चलाउने विद्युतिय तरङ्गको प्रवाहमा हुने चोर बाटोको कारण बारम्बार समस्या हुनेलाई औषधी भन्दा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्न सुझाएको छ । यो नै यस्तो समस्याको सही उपचार पद्धती हो । इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा उपलब्ध भए पछि नोवेल शिक्षण अस्पतालमा मुटुको धडकन असामान्य हुने समस्याका विरामीहरुलाई उपचार सेवा पाउन सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्