संखुवासभामा अपराध, मोरङमा बसोबास : कर्तव्य ज्यानमा २० वर्ष कैद फैसला भएकी कैली १४ वर्षपछि पक्राउ

संखुवासभामा अपराध, मोरङमा बसोबास : कर्तव्य ज्यानमा २० वर्ष कैद फैसला भएकी कैली १४ वर्षपछि पक्राउ

विराटनगर । संखुवासभामा २० वर्ष अगाडी कर्तव्य ज्यान कसुर गरेपछि मोरङमा बसाँई सरेर सजाय छल्दै आएकी कैली तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले संखुवासभा जिल्ला अदालतको २०६६ फागुन १२ गतेको फैसला अनुसार २० वर्ष कैद सजाय ठहर गरेर फरार तामाङलाई बिहीबार केराबारी गाउँपालिका–१० बाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार नाम परिवर्तन गरेर सरिता तामाङ बनेर डेरामा बस्दै आएको अवस्थामा पक्राउ गरिएको हो । अदालतको फैसला भएको १४ वर्षपछि संखुवासभा प्रहरीको आग्रहमा मोरङ प्रहरीले पक्राउ गरेर पठाएको दाहालले जानकारी दिनुभयो । तामाङमा श्रीमान् झारफुक गर्ने गरेको हुलियाका आधारमा पक्राउ गर्न सहज भएको थियो । संखुवासभामै विवाह भएका दम्पती नै यहाँ बस्ने गर्दथे ।

संखुवासभा साविक सिद्धकाली गाविस–२ (हालको चैनपुर नगरपालिका) निवासी तामाङ २०६० सालमा २ जना पुरुषको सामूहिक हत्याको घटनामा संलग्न भई दोषी ठहरपछि मोरङ झरेको खुलेको छ । अदालतले २०६६ साल फागुन १२ गते मुद्दाको किनारा लगाउँदै उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले मोरङबाट नियन्त्रणमा लिएर अदालतमा पेस गरिसकिएको जानकारी दिनुभयो ।

संखुवासभा जिल्ला अदालत चैनपुरका स्रेस्तेदार रामचन्द्र केसीले साविक शिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते सामूहिक हत्या भएको घटनामा दोषी ठहर भई फरार प्रतिवादी रहेको जानकारी दिनुभयो । पारिवारिक नाता सम्बन्धका ८ जना मिलेर उनीहरुको हत्या गरेको घटनामा संलग्न तामाङ पनि एक हुन् ।

खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कैलीसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङ मिलेर मंगल र योगेन्द्रको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्