विराटनगर । विराटनगरलाई फराकिलो बनाउने बाहिरी चक्रपथ निर्माण योजना २६ वर्षदेखि रिङ्गिदैं आएको छ । ४२ किलोमिटरले विराटनगर महानगरलाई फन्को लगाउँदै कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिकालाई समेट्ने योजना २६ वर्षमा अझै दुई किलोमिटर ट्रयाक खोल्नै बाँकी अवस्थामा रहेको हो ।
हालसम्म ३७ किलोमिटर ग्राभेल, तीन किलोमिटर कालोपत्रे र दुई किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको स्थितिमा गुज्रिरहेको विराटनगर चक्रपथ योजनाका लागि मोरङको ग्रामथानस्थित झोराहाट र विराटनगरको दरैया वस्तीमा मुआब्जा विवाद तगारो बन्दै आएको छ ।
निर्माण अलपत्र परेर व्यवस्थित विराटनगरको सपना पुरा हुन नसकेको चक्रपथ अहिले संघ र प्रदेशको तानातानमा परेको छ । २०७५ सालमा प्रदेश सरकारमा हस्तान्तरण भएको आयोजना अहिले पुनः संघ मातहत नै फर्काइएको हो । चालु आर्थिक वर्षमा दश करोड रुपिँया बजेट बिनियोजन भएको थियो । प्रदेश योजनाका लागि संघीय सरकार अन्तर्गत बजेट बिनियोजन भएपछि पूर्वाधार विकास मन्त्रालय कोशीले बजेट हस्तान्तरणका लागि पत्राचार गरेको थियो । तर, अर्थमन्त्रालयले आयोजना पुनः संघबाट सञ्चालन गर्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा सहमित दिएको छ ।
कोशी प्रदेश पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर सुशिल श्रेष्ठले संघले छुट्याएको बजेट हस्तान्तरण गर्ने प्रक्रियामा जाँदा आयोजना नै फिर्ता लाने निर्णय भएको पत्र प्राप्त भएको जानकारी दिनुभयो । गत मंसिर १८ गते अर्थले विराटनगर चक्रपथ निर्माण आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि सहमति दिएको इन्जियिर श्रेष्ठले जानकारी दिनुभयो । त्यहि अनुसारको पत्र प्रदेशलाई प्राप्त भएपछि ठेकका लगाएर काम थाल्ने योजना अलपत्र परेको इन्जिनियर श्रेष्ठको भनाई छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन विराटनगरको कार्यक्षेत्र भित्र चक्रपथ परेको जानकारी प्राप्त भएको छ, इन्जिनियर श्रेष्ठले भन्नुभयो–अब बाँकी काम उतैबाट होला ।