विराटनगर । विराटनगर महानगरपालिका २ र ७ को सीमानाको घोघाहा खद्रापैनी घुमेजस्तै दुईतर्फ बाउण्ड्रि वालले घेरिएको छ । विराटनगर–२ शनिहाटको महेन्द्र रात्री मा.वि. उत्तरतर्फबाट सुरु भएको खद्रालाई ड्रेनमार्फत सिंघिया खोलामा जोडिएको छ ।
ड्रेन बाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम धमाधम भईरहेको छ । ढेड किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क निर्माणका लागि विराटनगर महानगरपालिकाको आन्तरिक स्रोतबाट १७ करोड १३ लाख ४८ हजार ८४ रुपिँया ६६ पैसा (भ्याट र पिएस समेत) लागत लाग्नेछ । खुम्बु निर्माण सेवा प्रा.लि.सँग २०७९ असोजमा सम्झौता भए अनुसार २०८२ असोजसम्ममा निर्माण सम्पन्न हुनुपर्ने अवधी रहेको छ ।
आयोजनाका साइट हेर्ने विराटनगर महानगरपालिकाका इन्जिनियर सुजनराज श्रेष्ठका अनुसार निर्माण कम्पनीले आगामी एकवर्षको अवधीमै पार्क हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । यो पार्क क्षेत्रमा निर्माण हुनुपर्ने मुख्य–मुख्य संरचनाको काम सकिएको छ । निर्माणस्थलमा घेराबेरा, डेकोरेटिभ घेराबेरा, पानीको निकास नाला, प्रवेशद्वार, श्रद्धाञ्जली अर्पणस्थल (मोनोमन्ट एरिया), सातजना प्रधानमन्त्रीको स्मारकस्थल, सार्वजानिक शौचालय, चिल्ड्रेन पार्क, ओपन एम्पिथिएटर, सुटिङ क्षेत्र, वेटिङ्ग सेड, २०० मिटर लामो बोटिङ क्षेत्र बन्नेछ ।
विराटनगरमा जन्मनु भएका सातजना दिवङगत पूर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला, नरेन्द्र प्रसाद रिजाल, मनमोहन अधिकारी, सुर्यबहादुर थापाको स्मारक एकै स्थानमा राखिने छ । स्मारकस्थल पूर्व प्रधानमन्त्रीहरुको व्यक्तिगत जानकारी विवरण समेत उल्लेख गरिने छ ।
इन्जिनियर श्रेष्ठका अनुसार निर्माण कम्पनीले पहिलो फेजमा निर्माण गर्नुपर्ने संरचनाको काम सकेको छ । भौतिक प्रगति ४० प्रतिशत सकेको निर्माण कम्पनीले सम्झौतामा उल्लेखित रकमको ३० प्रतिशत भुक्तानी लिईसकेको छ । पार्कस्थललाई हरियाली र बुट्यान फूलहरुले आकर्षक बनाइने छ । सवारी साधनको पार्किङ सुविधा रहेकोले ढेड किलोमिटर दुरी हिँडेरै अवलोकन गर्नुपर्नेछ । विराटनगरमा घुम्न जाने र केहि बेर समय बिताउने अन्य स्थान नहुँदा प्रधानमन्त्री पार्कले त्यो अवसर सिर्जना गर्ने विश्वास राखिएको छ । यसका तीनवटा फेजका कामहरु भईरहेका छन् । अहिले बी फेजको काम करिब अन्तिम चरणमा पुगेको छ । ए फेजको काम समेत सुरु गरिएको छ । ए फेजको काम सकाएर सी काम सुरु गरिनेछ ।