सरकारसँग सम्झौता, सेवाग्राहीसँग रकम असुल्दै विराटनगरको नोबेल अस्पताल

सरकारसँग सम्झौता, सेवाग्राहीसँग रकम असुल्दै विराटनगरको नोबेल अस्पताल

विराटनगर । कोशी प्रदेशमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सेवाग्राहीसँग भने रकम असुल गरेको छ ।

माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम्झौता विपरित माघ १६ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना सेवाग्राहीका अभिभावकसँग रकम लिइएको हो।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्वरोले ग्रस्त पारेपछि माघ १६ गते भर्ना गरिएका विराटनगर–४ का ३ वर्षीय अंकित मण्डलका अभिभावकलाई तत्कालै रकम जम्मा गर्न लगाइएको थियो । बालकको अहिले पनि नोबेल मेडिकलमा उपचार भईरहेको छ । सरकारसँग सम्झौता भए अनुसार रेफरल हस्पिटलमा आकस्मिक कक्षमा भर्ना गरिएका दशवर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क गर्नुपर्ने हुन्छ ।
आकस्मिक कक्षमा भर्ना गरिएका बालकको उपचार शुल्क मागेपछि अभिभावकले चासो राखेका थिए । त्यसपछि निजी अस्पतालमा त्यो सुविधा नभएको जवाफ काउन्टरका कर्मचारीले दिएका थिए । त्यस विषयमा अभिभावकले ओबीसँग गुनासो गरेका थिए । प्रक्रिया संगत भर्ना भए\नभएको कुरा बुझेर कोशी प्रदेश मुख्यमन्त्री तथा मुन्त्रिपरिषद् कार्यालयमा शुक्रबार कागजात पठाइएको थियो । यसैगरी स्वास्थ्य मन्त्रालयसँग समेत यस विषयमा जानकारी लिदाँ माघ १५ गतेको सम्झौता अनुसार १६ गते भर्ना सेवाग्राहीको उपचार निःशुल्क प्रदान गर्नुपर्ने जानकारी दिइएको छ ।

मुख्यमन्त्री कार्यालयले नै चासो राखेपछि नोबेलका निर्देशक डा.राजेश नेपालले रिफण्ड गर्ने प्रतिवद्धता जनाएको बुझिएको छ । कोशीमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गराउने कार्यक्रमका लागि सरकारले मार्गदर्शन नै जारी गरेको छ । मार्गदर्शन अनुसार अस्पतालहरुमा नियम अनुसार भर्ना भएका सेवाग्राहीलाई उपचार गराउनु पर्ने दायित्वबाट पन्छिदै रकम असुल्ने गरिएको हो । यस अगाडी स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयनमा समेत निजी अस्पतालहरुले नाजायज फाइदा लिएको विषय बाहिर आउने गरेको छ ।

कोशी प्रदेश सरकारले नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल, झापा दमकस्थित कोओच–दमक बाल अस्पताल तथा प्रादेशिक अस्पताल भद्रपुरबाट विशेषज्ञ चिकित्सकिय उपचार सेवा दिन सुरु गरेको छ ।

दशवर्ष मुनिका बालबालिकाहरुलई निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा सम्बन्धी मार्गदर्शन २०८० जारी गरेर कार्यप्रभावकारितासहित कार्यन्वयन सुरु गरिएको भएपनि निजी अस्पतालहरु सेवाग्राहीलाई छल्ने प्रयास गरेर सरकारको कार्यक्रम कार्यन्वयनमा असहयोग गरेको देखिन्छ । मार्गदर्शन अनुसार कोशी प्रदेशमा स्थायी बसोबास भएका नेपाली नागरिकका सन्तान वा प्रचलित कानुन बमोजिम कसैको संरक्षणमा रहेका दशवर्ष मुनिका बालबालिकाले उपचार सेवा पाउने छन् । तर, नोबेल मार्गदर्शन विपरित वडाको समेत सिफारिस मागेको अभिभावकको गुनासो छ ।

मार्गदर्शनमा निःशुल्क उपचार सम्बन्धी व्यवस्था, सेवा प्रदायक अस्पताल, सेवा वापतको रकमको भुक्तनी, प्रदेशका सरकारी अस्पताल सम्बन्धी व्यवस्था, सेवा प्रदायक अस्पतालहरुको काम कर्तव्य, सम्झौता रद्द, भुक्तानी दावी समिक्षा मूल्यांकन समिति, बजेट व्यवस्थापन, सम्पर्क व्यक्ति र अभिलेख व्यवस्थापनका प्रावधान समेटिएको छ ।

मार्गदर्शन अनुसार लाभग्राहीले सेवा लिन आउँदा पहिलो सम्पर्क अस्पतालमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । सम्पर्क अस्पतालमा आएका बालबालिकालाई आवश्यक उपचार त्यहाँबाट सुरु गरिने छ । यदि सबै सेवा प्रदान गर्न नसकिने अवस्थामा सम्झौतामा तोकिएका अस्पतालहरुमा प्रेषण (रेफर) गर्नुपर्ने प्रावधानमा उल्लेख छ ।
तर, आकस्मिक कक्षमा भर्ना गरी उपचार गर्नुपर्ने बालबालिकाको हकमा प्रेषण पुर्जी आवश्यक पर्ने छैन । जुन अस्पतालमा भर्ना गरिएको छ त्यहि अस्पतालले निःशुल्क उपचार प्रदान गर्नुपर्ने हुन्छ । नोबेलको आकस्मिक कक्षमा भर्ना गरिएको बिरामीको भने सम्झौता भएको भोलिपल्टै रकम असुलिएको हो ।

बालबालिकाले निःशुल्क रुपमा निदात्मक (प्रयोगशाला र रेडियोलोजी), बहिरङ्ग, अन्तरङ्ग, शल्याक्रिया, फार्मेसी तथा पुनःस्थापना लगायतका सेवा प्राप्त गर्नसक्नेछन् । अस्पतालहरु बिरामी पुर्जी, आईसीयु, सीसीयु कार्डेक्स, ओटी नोट, डिस्चार्ज समरी, ल्याब, रेडियोलोजी र फार्मेसीको बिल सुरक्षित राख्नुपर्नेछ । एक भन्दा बढी सिटी स्क्यान र एमआरआई भएमा रिपोर्ट समेत सुरक्षित राख्नुपर्ने प्रावधान तोकिएको छ ।

सेवाग्राहीका लागि पहिलो सम्पर्क अस्पतालको रुपमा प्रदेश मातहतका सबै अस्पताल, कोशी अस्पताल विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, स्थानीय तह र मातहतका सरकारी अस्पतालहरुलाई तोकिएको छ । यसैगरी रेफरल अस्पतालको रुपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल भद्रपुर, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, , किओच दकम बाल अस्पताल हाम्रो अस्पताल प्रा.लि., लाइफलाइन अस्पताल दमक, ओम साई पाथीभरा अस्पताल, कनकाई अस्पताल बिर्तामोडलाई तोकेको छ ।

डाक्टर नेपालले भर्खरै सेवा सुरु हुँदा कर्मचारीको कमजोरीले पैसा लिन पुगेको दावी गरे । तर, १६ गते पश्चात विराटनटरको रानीका अर्का बालकको अभिभावकसँग समेत रकम असुलिएको गुनासो आएको छ । अभिभावकको नागरिकता र बालबालिकाको जन्मदर्ताका आधारमा रेफरल तोकिएका अस्पतालहरुले प्रेषणपुर्जी बाहेक नै आकस्मिक कक्षमा भर्ना गरिएको खण्डमा उपचार गराउनुपर्छ ।

यदि पहिलो सम्पर्क अस्पतालको रुपमा प्रदेश मातहतका सबै अस्पताल, कोशी अस्पताल विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, स्थानीय तह र मातहतका सरकारी अस्पतालहरुमा पुगेका बिरामीको थप उपचारका लागि रेफरल अस्पतालहरु बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल भद्रपुर, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, , किओच दकम बाल अस्पताल हाम्रो अस्पताल प्रा.लि., लाइफलाइन अस्पताल दमक, ओम साई पाथीभरा अस्पताल, कनकाई अस्पताल बिर्तामोडमा भर्ना गर्दा पहिलो सम्पर्क अस्पतालको रेफर पुर्जी समेत चाहिन्छ । तर, आकस्मिकमा भर्ना गर्दा यो चाहिदैन । डाक्टर नेपालले मिस्टेकले लिइएको पैसा फिर्ता गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्