विराटनगरको भानु कलेजमा वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न

विराटनगरको भानु कलेजमा वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरस्थित भानु कलेजले वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा ‘नेपाली युवाहरुको विदेशमोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयक वक्तृत्वकलामा आफ्नो विचार प्रस्तुत गरेर रोश्ना पौडेल प्रथम भइन् । १३ जना प्रतिस्पर्धीले भाग लिएको प्रतियोगितामा निरञ्जन चौधरीले द्वितीय स्थान हासिल गर्दा एन्जेल श्रेष्ठले तृतीय पुरस्कार पाइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कलेजका सञ्चालक तथा प्राध्यापक वसन्त बस्नेत सदस्य रहेको निर्णायक समितिले कृष्णीकुमारी राउत र एन्जेल भण्डारीलाई सान्त्वना घोषणा गरेको थियो ।

त्यसैगरी सोही अवसरमा आयोजित कविता प्रतियोगितामा ‘बुवा’ शीर्षकको कविता वाचन गरेर कृष्णीकुमारी राउत प्रथम भइन् । ‘बाकसको लाश’ कविता वाचन गरेर रोश्ना पौडेल द्वितीय हुँदा एन्जेल श्रेष्ठले तृतीय पुरस्कार पाइन् । निरञ्जन चौधरी र शिशिर नेपालले सान्त्वना पुरस्कार हात पारेका छन् ।

कलेजका निर्देशक वसन्त बस्नेतसमेत निणर्ायक रहेको प्रतियोगितामा २७ जना विद्यार्थीले भाग लिएका थिए । कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रम निर्देशक रमेश पाण्डेलले सञ्चालन गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलापका संयोजक तथा कलेजका निर्देशक देवेश प्रधान, युवा साहित्यकार एवं पत्रकार कटवाल दीपकलगायतले अप्रतियोगी कविता वाचन गरे । कार्यक्रममा कलेजका निर्देशक सुशील भगत, सम्साद अन्सारी, शिक्षक, कर्मचारी र विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नवोदितले राजनीति, प्रशासनिक, न्यायलगायतका क्षेत्रमा लाग्ने व्यक्ति पद सकिएपछि पूर्व हुने नवोदितले जिकिर गरे । तर भाषा, कला, साहित्य, संगीतमा लाग्ने व्यक्ति कहिल्यै पूर्व नहुने उनले बताए । जुन क्षेत्रमा लागे पनि सक्रियता र निरन्तरता आवश्यक पर्ने उनको भनाइ थियो ।

कलेजले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरेको जनाएको छ । भानु कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको प्राचार्यले श्रेष्ठले जानकारी दिए ।

कविता, निबन्ध, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, चित्रकलासहित खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको अतिरिक्त क्रियाकलापका संयोजक देवेश प्रधानको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्