विराटनगर । विराटनगरमा कुनै समय आदिवासीले कुलपुजा गर्ने ग्रामथान थिए । क्रमशः ग्रामथान मासिदैं गए, फरक प्रयोजनका स्थायी संरचना बने । पुरापूर्व कालदेखि कुल देउताको पुजा गरिदैं आएका ग्रामथानहरु अतिक्रमणमा परेर अस्तित्व सकिएको छ । आफ्ना पुर्खाले बनाएका ग्रामथान अतिक्रमण हँुदा त्यसको संरक्षणमा कसैको चासो पुगेन । ग्रामथान मासिए र नयाँ किसिमका संरचना बनेपछि भने अहिले यसको खोजी र संरक्षणका लागि उनीहरु संगठित बनेका छन् ।
ग्रामथान संरक्षण समितिका अध्यक्ष तिलक राजबंशीका अनुसार विराटनगरको गोग्राह (बरगाछी) स्थित राधारमण मन्दिर बनेको स्थानमा राजबंशीहरुको ग्रामथान प्रचलनमा थियो । त्यो क्रमशः अतिक्रमण हुँदे गएर मन्दिर बन्यो । गोग्राहमा रहेको ग्रामथान मासिएको धेरैवर्षसम्म कसैले चासो दिएन । तर, अहिले त्यसको संरक्षण गर्ने र कानुनी रुपमा लड्ने योजनासहित समिति गठन गरिएको हो ।
विराटनगर महानगर अध्यक्षमा तिलक राजवंशी यसका अध्यक्ष शनिबार मात्रै भएका हुन् । आदीवासी समुदायले विराटनगर मात्रै नभई मोरङका सबै पालिकामा ग्रामथान संरक्षणका लागि समिति गठन गरिरहेका छन् । विराटनगरमा तिलकको अध्यक्षतामा ११ सदस्य समिति गठन भएपछि पुराना ग्रामथानको लगत संकलन सुरु गरिने जानकारी दिइएको छ ।
विराटनगर–५ स्थित कोचाखालमा मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तदर्थ समिति गठन गरेको तिलकले जानकारी दिए । समितिको उपाध्यक्षमा विरनारायण थन्दार, सचिवमा रामसून्दर राजवंशी, सहसचिवमा पन्नालाल राजवंशी र कोषाध्यक्षमा राजकुमार चौधरीलाई चयन गरेको छ । समिति सदस्यहरुमा पवन राजवंशी, रामप्रसाद राजवंशी, रामचरण चौधरी, हरेन्द्र साह, गयाराम माझि थारु, जगदिश राजवंशी चयन हुनुभएको छ ।
अध्यक्ष तिलकका अनुसार अब ग्रामथान अतिक्रमण गरेर बनेका विद्यालय, संघ–संस्था, व्यक्तिलगायतका संरचनाको विषयमा अध्ययन गरेर एकमुष्ट कानुनी प्रतिरक्षामा जाने तयारी गरिएको छ । अतिक्रमित ग्रामथानहरुको संरक्षण गर्न पहलकदमी लिनका लागि सबै स्थानीय तहहरुमा संरक्षण समिति गठन गरिने बताइएको छ ।