विराटनगरमा चलेनन् व्यापारिक मल : नेपाल बजारपछि आरके सिटी बन्द उन्मुख, सेन्ट्रल मल थेगिदैं

विराटनगरमा चलेनन् व्यापारिक मल  : नेपाल बजारपछि आरके सिटी बन्द उन्मुख, सेन्ट्रल मल थेगिदैं

विराटनगर । विराटनगरको हाटखोलामा १२५ करोडका लगानीमा चारवर्ष खुलेको आरके सिटी सेन्टर बन्द हुने अवस्थामा पुगेको छ । व्यापारिक मल चल्न नसकेपछि अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता जुटेका छन् ।

पचास हजार बर्गफिट क्षेत्रफलमा बेसमेन्टसहित ८ तलाको भवनमा २०७६ फागुनदेखि सिटी सेन्टर सञ्चालनमा आएको थियो । सिटी सेन्टरको भुँईतला र पहिलो तला बाहेक ६ वटा तला खाली हुने प्रक्रियामा छन् । तयारी कपडा र जुत्ताचप्पलमा ५० प्रतिशतको अफस दिएर बिक्रीका लागि राखिएको छ । त्यहि पनि ग्राहक नआउँदा दैनिक पाँच हजारको कारोबार रहेको कर्मचारीको भनाई छ ।

सिटी सेन्टरको व्यवस्थापनले किचनवेयर, फर्निचर, होम डेकोर, इलेक्ट्रोनिक्स लगायतका सबै सामानहरू भारी छुटको अफर दिएर विक्री गरिसकेको छ । सिटी सेन्टरको माथिल्लो तलामा रहेको रेस्टुरेन्ट बन्द भएको छ । आठौँ तलाको स्विमिङ पुल र छैठौँ र सातौँ तलाको मल्टिप्लेक्स सिनेमा हल कहिल्यै सञ्चालनमा नआईकन सिटी सेन्टरले रुवरुप परिवर्तन गरेर अस्पतालका परिणत हुने तयारीमा पुगेको हो ।
आरके चिल्ड्रेन अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा. सुबोध शर्मा र व्यवसायी सुनिल शर्माको साझेदारीमा आरके सिटी सेन्टर सञ्चालनमा आएको थियो ।

लगानीकर्ताले एउटा उद्देश्यका लागि निर्माण भएको संरचना व्यापारमा असफल हुँदा बहुउद्देश्यीय अस्पताल सञ्चालनको लागि प्रक्रिया बढाईसकेको जानकारी दिएका छन् । लगानीकर्ता सुनिल शर्माले व्यापारिक मल नचलेपनि अस्पतालका लागि भवन प्रयोगमा ल्याउने मनस्थितिमा पुगिसकिएको बताए ।
विराटनगरमा यस अगाडी नेपाल बजार नामको व्यापारिक मल महेन्द्रचौकमा खोलिएको थियो । त्यो समेत बन्द भएर अहिले संरचना भाडामा दिएको छ । विराटनगरमा नेपाल बजारपछि आरके सिटी बन्द हुने अवस्थामा पुगको हो ।

विराटनगरकै सेन्ट्रल मलको समेत ३० प्रतिशत सटरहरु खाली रहेका सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिनुभयो । बन्द हुने अवस्थामा छैन तर कारोबार समेत सन्तोषजनक छैन, उद्योगी मुन्दडाले भन्नुभयो–लगानीका क्षेत्रको प्रतिफलमा धेरै हौसिने र हतोत्साहित हुने कुरामा हाम्रो ध्यान छैन । उहाँले स्थिति सहज हुँदै जाँदा स्ट्रिट कन्सेप्टको सेन्ट्रल मल लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो ।
विराटनगरमा भाटभटेनी सुपर स्टोरले आफ्नो कारोबार गरिरहेको छ । नयाँ सेन्च्यूरीयन मल निर्माणाधिन प्रक्रियामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्