क्यान्सर उपचारमा विराट टिचिङको आशा, चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल इन्स्टिच्यूट

क्यान्सर उपचारमा विराट टिचिङको आशा, चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल इन्स्टिच्यूट

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्ष्टिच्यूट सञ्चालनमा ल्याएको छ । नयाँ संरचनासहित एकसय शै्यामा क्यान्सर रोगीहरुको उपचारका लागि एक अर्बका आधुनिक उपकरणसहित आइतबारदेखि अस्पताल सञ्चालनमा आएको हो ।

अस्पताल सञ्चालनमा आएसँगै क्यान्सर रोगीहरुको लागि कोशी प्रदेशमै विराट टिचिङले आशा जगाई दिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवा दिने गरि अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् । क्यान्सर रोगप्रतिको भयावह मानसिकतालाई हटाउँदै सुलभ शुल्कमा उपचार गराउने लक्ष्य राखेर लगानी गरिएको अस्पतालले पूर्ण सेवा शुभारम्भ गरेको हो ।

अध्यक्ष कार्कीले क्यान्सर लागेर उपचार गराउनु पर्ने बाध्यताका बिरामीलाई चितवन, काठमाण्डौं वा भारत जानुपर्ने बाध्यताबाट रोक्ने लक्ष्यसहित आधुनिक उपकरण, जनशक्ति र विशेषिकृत संरचना निर्माणका लागि लगानी गरिएको दावी गरेका छन् । कोशी प्रदेशमा योस्तरको लगानी र उपकरणयुक्त क्यान्सर अस्पतालले सेवाग्राहीका लागि लाभ हुने आशा जगाएको छ ।
अस्पतालमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी, टार्गेट थेरापी, इम्यूनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी, रेडियो–डाइग्नोसिस, इन्टरभेसनल रेडियोलोजी, स्टेरियोट्याक्टिक, म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा प्रदान गर्नेछ । अस्पतालमा प्रिभेन्टिभ अन्कोलोजी प्यालिएटीभ केयर, प्याथोलोजी र आहार तथा पोषणविद् परामर्श सेवा समेत रहने छ ।

क्यान्सर विभाग अन्तर्गत दशजना विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्ने दावी अध्यक्ष कार्कीको छ । अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्की, डा.मोना प्रियादर्शीनी, मेडिकल अन्कोलोजिष्ट डा.सुलभ सापकोटा, क्यान्सर शल्यचिकित्सक डा.शिवराम शर्मा, डा. ध्रुवनारायण साह, डा.नरेन्द्र पण्डित, पेडियाट्रिक अन्कोजोजिष्ट डा.सुवास मेहेता, पेडियाट्रीक अन्का सर्जन डा.हिरामणी पाठक, क्लिनिकल अन्कोलोजिष्ट डा.अस्मिता रायमाझी र डा.विवेक घोष, रेडियोलोजिष्ट डा.नेत्रबिक्रम शाह, भानुप्रताप शाह लगायतको टोलि रहेको जानकारी दिइएको छ ।

विराट टिचिङले हालसम्म १५ लाख ४४ हजार ४७१ जनालाई ओपीडी सेवा, २ लाख ७१ हजार ७२३ जनालाई अन्तरंग सेवा दिईसकेको दावी छ । एक हजार २४३ कर्मचारी रहेको शिक्षण अस्पतालमा एक हजार दुई शै्या पुगेको छ ।
मोरङको बुढीगंगा गाउँपालिकामै यस अगाडी उद्योगी राजेन्द्र राउतले अढाई अर्बको लगानीमा नयाँ अस्पताल शिलन्यास गर्नुभएको थियो । विराटनगरमा नोबेल टिचिङ अस्पताल, सरकारी कोशी अस्पताल, न्यूरो अस्पताल, विराट अस्पताल र विराटनगर आँखा अस्पताल विशेषिकृत सेवा प्रदान गर्ने अस्पतालहरु हुन् । विराटनगरसँग सीमा जोडिएको बुढीगंगामा विराट शिक्षणपछि उद्योगी राउतको आरआर मल्टिस्पेसियालिटी अस्पतालमा लगानी सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्