ठेक्का लागेको सातवर्षपछि भेटियो पुल ! बन्नुपर्ने स्थानभन्दा ४ किलोमिटर उत्तरमा निर्माण

<span class='c1'>ठेक्का लागेको सातवर्षपछि भेटियो पुल !</span> <span class='c2'>बन्नुपर्ने स्थानभन्दा ४ किलोमिटर उत्तरमा निर्माण</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सातवर्षपछि योजना अनुसारको पुल भेटिएको छ । योजनामा तोकिए अनुसारको साविक स्थान परिवर्तन गरेर निर्माण भईरहेको अवस्थामा पुल भेटिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/२०७४ मा बजेट बिनियोजन गरेर निर्माणको काम सुरु गरिएको थियो । छ करोड १८ लाख रुपिँयाको लागतमा शंकरमाली किरातेश्वर जे.भी. कोटेश्वर काठमाण्डौंसँग २०७४ भदौ १९ गते निर्माण सम्झौता भएको थियो ।

मन्त्रालयले सुनसरी–मोरङ पुल निर्र्माण आयोजनामार्फत कम्पनीलाई दिएको कार्यादेशमा सुनसरीको साविक अमडुवा वडा नम्बर ५ र ८ को टेंग्रा खोलामाथि बनाउन भनेको थियो । यो हालको बर्जु गाउँपालिका–४ मा पर्दछ । तर, पुल भने सुनसरीको साविक अमाहिबेल्ला गाविस वार्ड नम्बर ७ र रामगञ्ज बेलगछिया गाविस ५ स्थित सितागञ्जको पासमन टोलमा निर्माणाधिन चरणमा भेटिएको छ । पुल निर्माण भईरहेको हालको स्थान बर्जु गाउँपालिका वडा नम्बर ५ र २ को मा पर्दछ ।
पुल निर्माणको योजना भने बर्जु गाउँपालिका वडा नम्बर ४ टेंग्रा खोलाका लागि तोकेर आउने गरेको छ । एक स्थानमा निर्माण हुनुपर्ने पुल भने अर्को स्थानमा निर्माण गरेर बजेट दुरुपयोग गरिएको पाइएको छ । पुल निर्माण भईरहेको हालको स्थान बर्जु गाउँपालिका वडा नम्बर ५ र २ को मा पर्दछ ।

बर्जु गाउँपालिका–४ अवडुवा स्थित टेङग्रा खोलामाथि पुल निर्माण भईरहेको र क्रमागत योजना अनुसार बजेट बिनियोजन र भुक्तानी भएको देखिएपछि स्थानीय तहले चासो दिएको थियो । चासो दिने क्रममा अमडुवामा बन्नुपर्ने पुल सीतागञ्जमा बनिरहेको पाइएको हो । चालु आर्थिक वर्षका लागि समेत ८९ लाख ३० हजार रुपिँया बजेट बिनियोजन भएको देखिएपछि स्थानीय तह बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले जुन स्थानका लागि योजना तथा बजेट तोकेर आएको हो, त्यहि स्थानमा निर्माण गर्न मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिनुभयो ।

पुल निर्माण आयोजना अन्तर्गतका सबै पूर्वाधार आयोजनाहरु अहिले सडक डिभिजन कार्यालय विराटनगर मातहत हस्तान्तरण भएर आएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भईरहेको फेला परेको जानकारी दिनुभयो । गाउँपालिका र स्थानीयले समेत योजना तथा बजेट बिनियोजनमा तोकिएको स्थानमा अब पुल निर्माण हुनुपर्ने माग गरेपछि सडक डिभिजन कार्यालय विराटनगरले स्थलगत अनुगमन गरेको थियो । ‘निर्माणस्थलमा त्रुटी भेटियो, हामीले त्यसलाई संशोधन गर्नुपर्ने प्रक्रियामा लैजान्छौं’ डिभिजन प्रमुख साहले भन्नुभयो–बजेट निकासा भएर आएको साविक स्थान भन्दा बाहिर पुल बनेको देखिएपछि अब स्थान संशोधन गरेर सुधार्नु बाहेकको बिकल्प छैन ।’

निर्माण कम्पनीले समेत पुलको काममा ढिलाई गर्दै आएको छ । २०७४ भदौदेखि निर्माण प्रारम्भ गर्ने कार्यादेश पाएको पुलको काम ६५ प्रतिशत सकिएको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो । हालसम्म निर्माण कम्पनीले ६० प्रतिशत अर्थात् ३ करोड ३२ लाख ६८ हजार ६५४ रुपिँया भुक्तानी बुझेको देखिन्छ । कम्पोनेन्ट नम्बर ११५ अन्तर्गत ‘एसएमबीसीपी–१६÷०७३÷०७४ मा शंकरमाली किरातेश्वर जेभीले ठेक्का सम्झौता गरेर निर्माण गरिरहेको पुलको अन्तिम भुक्तानी २०७८ असार १४ गते लिइएको थियो । त्यसपछि निर्माण गर्ने कम्पनी निर्माणस्थलमा फर्केको छैन ।

डिभिजन प्रमुख साहले चालु आर्थिक वर्षका लागि बिनियोजित ८९ लाख ३० हजार बजेटमार्फत काम लगाउनका लागि निर्माण कम्पनीसँग बारम्बार सम्पर्क भईरहेको जानकारी दिनुभयो । उहाँले निर्माण भईरहेको स्थानमा त्यहि पुललाई पूरा गरेर योजना मागिएको र जरुरी रहेको स्थानमा नयाँ योजना समावेश गर्ने विषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि अनिल मण्डलले पुलको डिजाइन परिवर्तन गर्नुपर्ने कामले गर्दा गतवर्ष निर्माणको काम नभएको जानकारी दिनुभयो । उहाँले डिपिआर अनुसार ३५ मिटर लम्बाई भनिएपनि फिल्डमा ३६ मिटर हुनुपर्ने देखिएकोले संशोधन गरिएको जानकारी दिनुभयो । पुल निर्माणको काम अब एक हप्ता भित्रबाट सुरु गर्ने बताउँदै मण्डलले त्यसबेला आयोजना कार्यन्वयन गर्ने निकाय र स्थानीय तहले देखाएको स्थानमा बनाएको दावी गर्नुभयो ।

स्थानीय ओमप्रकाश मेहताले मुख्य सडक छोडेर सहायक सडक जोड्न पुल निर्माण गरिएको दावी गर्नुभयो । उहाँले साविक स्थान भन्दा चार किलोमिटर उत्तरमा पुल बनाउनका लागि सम्बन्धित वडाको लेटर प्याड दुरुपयोग गरेर अर्को वडाका अध्यक्षले सिफारिस दिएको बताउनुभयो । ‘बर्जु वडा नम्बर ५ को लेटर प्याडमा साविक अमाहीबेल्ला गाविस ५ र रामगञ्ज बेलगछीया ५ जोड्ने ट्यांग्रा खोला पुल निर्माण हुने स्थान हाल बजु गाउँपालिका ५ र २ मा पर्ने नक्सामा निर्धारण भए बमोजिमको सोहि स्थान भएको व्यहोरा सिफारिस गरिन्छ ।’ भनेर उल्लेख गरिएको छ । तर, गाउँपालिकाले गत माघ १६ गते गरेको पत्राचारमा साविक अमडुवा गाविस ५ र ८ हाल बर्जु गाउँपालिका ४ टेङ्ग्रामा पर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्