विराटनगर । विराटनगरको कोशी अस्पतालमा बेथिति सुधार नगरे एकीकृत समाजवादीले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आज अस्पताल विकास समितिलाई ज्ञापन पत्र बुझाउँदै बेतिथि र भ्रष्टाचार नरोकिए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
प्रदेशकै ठुलो कोशी अस्पतालमा यति बेला अस्तव्यस्त रहेको भन्दै एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले ज्ञापन पत्र बुझाएको एकीकृत समाजवादीका प्रवक्ता वोसिम आलमले जानकारी दिए ।
‘आसेपासेलाई जागिर खुवाउने मनसायले स्वीकृत दरबन्दी गुपचुप राखेर हालै सूचना आव्हान गरिएको छ । यसको उद्देश्य भनेको आफ्ना र आसेपासेलाई कर्मचारीमा नियुक्ति गर्नु नै हो भन्ने हाम्रो ठहर हो’ ज्ञापन पत्रमा भनिएको छ । अहिलेको विकास समिति आफ्नो दायित्व नै बिर्सेर दलगत स्वार्थ पुरा गर्नका लागि परेको महानगर कमिटी सचिव मिरा दाहालले आरोप लगाएकी छिन् ।
‘अस्पताल प्रशासन समेत जताजता विकास समिति त्यतात्यता कुदेको उल्लेख गरिएको छ । अस्पतालमा सरसफाइ नभएको, स्वास्थ्यकर्मीहरू पनि समयसम्म अस्पतालमा बसेर बिरामीको उपचार नगरेको लगायतका आरोप नेकपा एसको रहेको छ ।
विना टेन्डर अस्पतालका पुराना भवन भत्काएर सरकारी नीति उलङ्घन गरेको आरोप लगाएका छन् । भवन भत्काउँदा अस्पताल विकास समितिकै अध्यक्षको डोजर प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप समेत नेकपा एकीकृत समाजवादीले लगाएको छ ।