विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फष्ट बेञ्चर र लाष्ट बेञ्चर विद्यार्थीकाे ज्ञानकाे मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्ने बताएका छन् ।
न्यू सृष्टि दैनिककाे वार्षिकाेत्सव एबम् सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले ज्ञानकाे मापन अक्षरमा नभइ खाेज र अनुसन्धानका आधारमा हुनुपर्ने बताएका हुन्।
´फष्ट बेञ्चर र लाष्ट बेञ्चरकाे ज्ञान र क्षमताकाे मापन अक्षरबाट हुँदैन र गर्न पनि मिल्दैन,` उनले भने, ´अल्बर्ट आइन्स्टाइनलगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएकाे बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाकाे शिक्षा र ज्ञानकाे मापन नम्बरमा नै खाेजिरहेका छन् ।` त्यसैले अब अहिलेकाे शैक्षिक व्यवस्था बदलेर अब्बल नागरिक बनाउने व्यवस्थामा जानुपर्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् । शिक्षा र ज्ञान फरक विषय भएकाे सबैले बुझ्नु आवश्यक भएकाे उनकाे भनाइ थियाे ।
´सामुदायिक विद्यालयहरूमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै भाषामा शिक्षा दिएर विद्राेहकाे बिऊ राेपिरहेकाे छ,` उनले भने, ´धनी भएकाे कारण अंग्रेजी र गरीव भएकाेले नेपाली माध्यममा शिक्षा प्राप्त गरेकाे असर बालबालिकामा कस्ताे पर्छ भन्ने बुझ्नु पर्दैन ?` विद्यालयकाे एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन मिल्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए । ´त्यही गरीव विद्यार्थीले विभेदकारी शिक्षाबिरूद्ध विद्राेह गर्याे भने के गर्ने ?`, उनले भने, ´त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्रुञ्जेल अभियान जारी राख्छु ।`