दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विराटनगर महानगरले काम गरिरहेको छ : मेयर कोइराला

दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विराटनगर महानगरले काम गरिरहेको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरू अगाडि बढाइरहेको बताउनुभएको छ ।

विराटनगर-१४ मा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कोइरालाले दक्षिणी क्षेत्रका सबैजसो वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजनाहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले ५ करोड बढीको लागतमा विराटनगर-१४ स्थित रानीपोखरी, ६ बढीको लगानीमा मण्ठापोखरी निर्माण भइरहेको सुनाउनुभयो । मेयर कोइरालाले दुवै पोखरी पार्कसहितको हुने उल्लेख गर्नुभयो ।

उहाँले विराटनगर-१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरी निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । नेपाली सेनासित मिलेर विराटराजाको प्राचीन दरबार संग्राहालय सञ्चालनमा आउनुका साथै विराट राजाको दरबार क्षेत्रको सरसफाई गरी पर्खालमा रंग लगाउने कार्य भइरहेको बताउनुभयो ।

त्यस्तै हरेक वडामा १ करोडभन्दा बढीका ठूला योजना पनि सञ्चालनमा रहेको उहाँको भनाइ थियो । विराटनगर १२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम नाला, ३ करोड ६० लाखको लागतमा विराटनगर-१३ आँखा अस्पताल अगाडिको सडक, १४ नम्बर वडाको भगवती मार्ग, १५ नम्बरको सुँडी टोलस्थित नाला र सडक, १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्वको सडक, १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, र १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तरको सडक पनि धमाधम निर्माण भइरहेको मेयर कोइरालाले बताउनुभयो । निर्माण भइरहेका सबै सडकको लागत १ करोड रहेको कोइरालाको भनाइ थियो । त्यस्तै विराटनगर-११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलमा कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उहाँले बताउनुभयो ।
मेयर कोइरालाले वडा नम्बर १५ मा रहेको डुबान समस्याको दीर्घकालीन समाधानका लागि सिक्स लेन सडक कार्यालयलाई पत्रचार गरिसकेको बताउनुभयो ।
मेयर कोइरालाले भौतिक विकाससँगै मानव विकासमा पनि महानगरले कार्य गरिरहेको सुनाउनुभयो । उहाँले विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउन विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःल्शुल्क आँखा शिविर जारी रहेको बताउनुभयो । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिने उहाँको भनाइ थियो । मेयर कोइरालाले सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्ष ८७ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा माघ २८ गतेसम्म २७ करोड ५६ लाख ५० हजार राजस्व संकलन भएको जानकारी दिनुभयो । गत आर्थिक वर्ष ६४ करोड ५ लाख राजस्व संकलन भएकामा यस वर्ष आर्थिकमन्दीका कारण राजस्वको लक्ष्य पूरा हुने अवस्था क्षिण हुँदै गएको टिप्पणी गर्नुभयो । गत वर्ष ७३ प्रतिशत बेरुजु फस्छ्र्यौट गरेको, रेडक्रसमार्फत विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराइरहेको, प्रसूतिका लागि र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको सुनाउनुभयो । फुटपाथ नियन्त्रण, सरसफाई, सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवनमा रोक, १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था, विद्युत र केवल-नेटको तार व्यवस्थापन गरेको मेयर कोइरालाले बताउनुभयो । उहाँले विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गर्नुभयो । मेयर कोइरालाले आफू आफ्नो कार्यकालको हालसम्म १४ किलोमिटर कालोपत्रे, ३९ किलोमिटर ग्राभेल र १४१ वटा कल्भर्ट निर्माण गरेको उल्लेख गर्नुभयो ।

मेयर कोइरालाले १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, २ करोड ११ लाखको लागतमा बाल उद्यान, ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन धमाधम निर्माण भइरहेको बताउनुभयो । करिब २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको जानकारी दिनुभयो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरसित भएको सीमित स्रोतले महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि लागिपरेको बताउनुभयो । उहाँले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन स्थानीयको पनि खबरदारी जरुरी रहेको औंल्याउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सार्वजनिक सुनुवाईमा उठेका विषयलाई जनप्रतिनिधि र कर्मचारी मिलेर सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १३, सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेलसहित सम्बन्धित शाखा र महाशाखा प्रमुखहरूले सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको उत्तर दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्