रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

काठमाडौं । जिरीको हिमाली एफएमले एउटा कार्यक्रम चलाउँथ्यो साथी बनाउने । स्रोताहरु फोन गर्थे, साथी बन्थे । दुर्घटनामा नपरेकाहरुले गरेका चर्चा न सञ्चारमाध्यममा आए न त कार्यक्रमका विषयमा कतै आलेख नै छापियो ।

सोमबार काठमाडौंमा जिल्ला प्रहरी परिसर टेकुले उक्त रेडियो कार्यक्रमको नाम लिएको छ । नाम पनि हत्या घटनाको अनुसन्धानबाट प्राप्त तथ्यका रुपमा । गत शनिबार साँझ प्रहरी कन्ट्रोलको १०८ नम्बरमा फोन आयो – गौशालाको रुञ्चेडाँडास्थित सिरहा धनुषा होटल एण्ड लजको एउटा कोठामा अपरिचित महिलाको लास छ । गौशालाबाट प्रहरी टोली पुग्यो । लजको १०८ नम्बर कोठाभित्र खाटमा महिलाको लास थियो । घाँटीमा नाइलनको डोरी कसिएको, अनुहारमा रगतजस्तो रातो लतपतिएको । मृतकको साथमा पहिचान खुल्ने न कागजपत्र थियो, न त मोबाइल । प्रहरीले लजको इन्ट्री रजिस्टर हे¥यो । त्यहाँ टिपाइएको नाउँ, ठेगाना वास्तविक थिएन । गत माघ २४ र २६ गते कोठा बुक गरिएका इन्ट्री प्रहरीले अध्ययन ग¥यो ।

ढाँटेर टिपाइएको नाउँ, ठेगानाको पछि लागेको प्रहरीले पत्ता लगायो । आफन्त बोलायो र सनाखत गरायो । मृत महिला थिइन काठमाडौंको भीमसेनगोलामा डेरा गरी बस्ने रामेछापको लिखु–५ का नसे दमाइकी श्रीमती पर्मिला ।

सनाखत नसे र उनकी बहिनी शर्मिलाले गरे – मृतक पर्मिला नै हो । प्रहरीले सीसीटीभी फुटेज खोज्यो । त्यसमा गत शुक्रबार पर्मिला एक जना पुरुषसँग उक्त होटलतर्फ गइरहेको दृश्य देखियो । मास्क र टोली लगाएका ती पुरुषको पहिचान तत्काल सम्भव भएन । प्रहरीले पर्मिलाको मोबाइल नम्बरका कल डिटेल र उनको सम्बन्धबारे अनुसन्धान थाल्यो । ती पुरुष उनका प्रेमी रहेको शंका भयो ।

दुवैबीच विगतको प्रेम सम्बन्ध परिवारलाई थाहा भएको खुल्यो । गाउँमा बारम्बार सँगै देखिएपछि विवाद बढ्दा किचलो प्रहरीमा पुगेको थियो । गत मंसिर ७ मा दुवै पक्षलाई रामेछापको इलाका प्रहरी कार्यालय धोबीडाँडाले मिलापत्र गराएको थियो । मिलापत्रमा ती पुरुषका बारेमा उल्लेख थियो । ती थिए हाल काठमाडौं बस्दै आएका दोलखाको वैतेश्वर–७ का ३८ वर्षीय कुमार श्रेष्ठ । हत्याका संदिग्धको पहिचान खुलेपछि प्रहरीले श्रेष्ठलाई खोज्न थाल्यो । दोलखाको पुरानो डेरामा भेटिएनन् । उनी काठमाडौंको बुद्धनगरबाट पक्राउ परे । उनका साथबाट लजमा नाम ठेगाना टिपाउन उपयोग गरेको झुटा परिचयपत्र मात्रै फेला परेन, घटनाको दिन भएको झगडामा च्यातिएको टीसर्ट र पर्मिलाको मोबाइल फोन पनि बरामद भयो ।

पर्मिला श्रीमानसँग रामेछापमै थिइन । रेडियो कार्यक्रममार्फत कुमार श्रेष्ठसँग चिनजान भएको थियो । कुराकानीको क्रम बढ्यो । दुवै विवाहित रहेको एकअर्कालाई थाहा थियो तैपनि प्रेम सम्बन्ध बनाए ।

नसे काठमाडौं गएको मौकामा कुमार पर्मिलालाई भेट्न रामेछापस्थित घर पुगे । आफ्नो परिचय दिए – पर्मिलाको माइती अर्थात काका पर्ने हुँ । उनी त्यहाँ एक साता बसे । दुवैको हिमचिम देखेर परिवार र गाउँलेले शंका गरे । दुवैको सम्बन्धको वास्तविकता खुल्यो । झगडा भयो । विवाद प्रहरी कार्यालयसम्म पुग्यो । दुवै परिवार राखेर छलफल गर्दा कुमारलाई श्रीमती सविना र पर्मिलालाई नसेले जिम्मा लिए । एकअर्कालाई नभेट्ने सहमति भयो । दुवै पक्ष आआफ्नो घर गए ।
गत मंसिरमा नसे र पर्मिला सानो छोरासहित काठमाडौं आए । भीमसेनगोलाको सुकुम्बासी टोलमा बस्न थाले ।

पुसमा कुमार पनि काठमाडौं आए । बुद्धनगरमा डेरा लिए । छोरीसँगै बस्दै थिए । प्रहरीको अनुसन्धानअनुसार कुमार त्यसै सोझो मनले काठमाडौं आएका थिएनन् । आएलगत्तै लोकन्थहीमा डेरा लिए, पर्मिलालाई बोलाए । दुवै सँगै बस्न थाले । घरायसी कामले कुमार दोलखा गएका बेला पर्मिला श्रीमान नसेको डेरामा फर्किन् । माघ ४ मा कुमार पर्किए । दुवैबीच भेट भयो । माघ २४ मा सिरहा धनुषा लजमा एक बाससँगै बसे । पर्मिलाले ‘सधैं बाहिर बसेर हुँदैन, मलाई बिहे गरेर घर लैजाउ’ भनिन् । कुमारले जेठी श्रीमतीको दबाबका अगाडि त्यसो गर्न नसक्ने बताए । माघ २६ मा उनीहरु फेरि त्यही लजमा आए । दुवैबीच पुरानै कुरामा विवाद भयो । हातपात भयो । कुमारले पर्मिलाको बायाँ कञ्चटमा मुक्का हाने, उनी ढलिन् । हतार हतार नाइलनको डोरीले उनको घाँटी कसे । उनले हलचल नगरेपछि सुटुक्क निस्किए, मोबाइल पनि साथै लिएर गए भागे ।

कुमार पक्राउपछि प्रहरीले घटनाको विवरण सोमबार सार्वजनिक गरेको हो । यद्यपि घटनाको अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ । -न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्