नक्कली नेपाली नोटसँग गाँजा कनेक्सन : बारम्बार पक्राउ पर्दै कारोबारी

नक्कली नेपाली नोटसँग गाँजा कनेक्सन : बारम्बार पक्राउ पर्दै कारोबारी

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा तराई ट्रान्जिट हुँदै सीमापार भारत निकासी हुने गरेको छ । पहाडको गाँजा तराई हुँदै भारतसम्म पु¥याउन उत्पादक, त्यसका कारोबारीसँगै भारतीय नागरिक समेत संलग्न आरोपमा पक्राउ पर्ने गरेका छन् ।
शनिबार र आइतबार सुनसरीमा दुईवटा घटनाको संयोग परेको छ । सुनसरीको ईनरुवा नगरपालिका–४ बाट १ करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ शनिबार परेका छन् ।

धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १४९ किलो गाँजासहित १४ जना आइतबार पक्राउ परेका छन् । गाँजासहित पक्राउ पर्नेमा भारतीय नागरिक छन् । पहाडी क्षेत्रमा उत्पादन गाँजा तराई झारेर सीमा कटाउने गिरोह कोशीमा सक्रिय रहेको तथ्यांकले नै पुष्टि गर्दछ ।
मंगलबार बिहान १ः५ बजे बराहक्षेत्र–९ राजाबासमा टाटा सुमो गाडीमा ४०६ केजी गाँजासहित दुईजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरेको छ ।

गाँजासहित धरान–४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी–८ का २७ वर्षीय नारायणबहादुर राईलाई गाँजासहित भाग्न खोज्दा दुई राउन्ड गोली चलाएर नियन्त्रणमा लिइएको हो । विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा प्लास्टिकको बोरामा प्याक गरेको १३ बोरा गाँजा बरामद गरिएको छ ।

सुनसरीमा आइतबार पक्राउ गरिएको नक्कली नोटसँग गाँजा कारोबारको संभावना कति छ ? कोशीका प्रहरी नायवमहानिरीक्षक (डिआईजी) चन्द्रकुवेर खापुङसँग सोध्दा उनले अनुसन्धान प्रारम्भिक चरणमा रहेकोले अहिले नै स्थापित भईनसकेको बताए । तर, लगतै उनले यो संभावना नकार्न नसकिने भएकोले अनुसन्धान सुक्ष्म तवरले गरिने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतको बिहार राज्य बिरपपुर–५ का २२ बर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई शनिबार पक्राउ गरेर आइतबार नै सार्वजानिक गरेको हो । उनले भारतीय गाडीमा नक्कली नेपाली नोट लिएर आउने क्रममा चेकजाँचका क्रममा पक्राउ परेका थिए । बीआर ११ एक्स ३४२९ नम्बर गाडीका चालक साफी विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

यसैगरी धरानबाट आइतबार १४९ किलो गाँजासहित पक्राउ परेका १४ जना धनकुटाबाट धरानतर्फ आउँदै गरेका थिए । उनीहरु बीआर १० पी ९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीमा सवार थिए । चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको थियो । गाँजा ओसारपसारमा सक्रिय भारतको बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल, २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवी पक्राउ परेका छन् ।

यसैगरी अन्य ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवी छन् ।
गाँजा ओसारपसारमा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारतको बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको पनि संलग्नता खुलेपछि पक्राउ गरिएको छ ।

डिआईजी खापुङले नक्कली नोट लिएर आएको गाडी र गाँजा बोकेर आएको गाडीबीचको कनेक्सन, दुवै गाडीमा सवारबीचको कुराकानी र सम्बन्धको विषयमा अनुसन्धान गरिने बताए । उनले अनुसन्धानको प्रारम्भकै यो कुरा स्थापित भईनसकेपनि नकार्न नसकिने संभावना रहेको बताए । कोशीमा गाँजा कारोबारी पक्राउको फेहरिस्त दैनिक जोडिदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्